अर्घाखाँचीमा पुरानै अनुहार दोहोरिँदै, रायमाझी र भुसालबीच प्रतिस्पर्धा

काठमाडौँ । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ ।

प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ । सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समीकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरूले उम्मेदवारी पाउने सम्भावना नरहेको बताइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच अर्घाखाँची नेपाली कांग्रेसले लिने सहमति भएका समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपि स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर
कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउँदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्बल बाँड्न पुगेकी भुसालको सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवैजना पुराना अनुहारको बिचमा स्वतन्त्र उम्मेदवार को आउँछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सञ्जालहरूमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *