१८ लाखले छाडे काठमाडौँ, सुनसान बन्दै सडक

काठमाडौँ । यस वर्षको दसैँ मनाउन करिब १८ लाखले काठमाडौँ उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जानकारी दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको सङ्ख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए । दसैँका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार गत वर्ष करिब १६ लाख यात्रुले उपत्यका छाडेका थिए । ‘कोभिडपछि उपत्यकाबाट बढी यात्रु यही दसैँमा बाहिरिएका हुन्,’ स्वाँरले भने, ‘सोमबारसम्म १९ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’ यात्रुको चाप बढी हुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । दसैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम भएपछि सडक सुनसान बन्दै गएको छ ।

हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्ने छन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुन्छ ।

दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाडौँ उपत्यकाका ठाउँ ठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकै दिन तीव्र गतिमा गाडी चलाउने १४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउनेविरुद्ध अहिले कारबाही अभियान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *