रामरिझनले छाडे बाबुरामको साथ, सिरहा २ र ३ बाट स्वतन्त्र लड्ने घोषणा

जनकपुरधाम । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निकट मानिने बौद्धिक नेता रामरिझन यादव सिरहाको दुई क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेको छन् ।

डा. भट्टराईको पार्टीमा नेता यादव केन्द्रीय सदस्य छन् । तर सिरहा क्षेत्र नम्बर २ र ३ बाट उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । धेरै गन्थन-मन्थन पश्चात् संघमा स्वतन्त्रबाट उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएका छन् ।

‘ओपेन हर्ट सर्जरी गराएकोले जनताले मागे जतिको समय दिन सक्दिन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, एक पटक चाहिँ प्रत्येक गाउँमा पुग्ने मेरो विचार छ । किनकि, चुनावमा धन व्ययको जति कुरा गरेपनि म विचारको बलमा निर्वाचनमा उड्छु ।’

नेता यादवले निर्वाचन अयोगले तोकेको रकमभन्दा एक रुपैयाँ कम खर्च गर्छु तर बढी चाहिँ नगर्ने बताएका छन् । चुनावी खर्चको जोहो तराई मधेसको बारेमा भर्खरै लेखेको पुस्तक  ‘माखेसाङ्ग्लो’ बेचेर गर्ने उनको भनाई छ ।

उनले पुस्तक किनिदिनु सिरहा जिल्लावासीलाई अनुरोध समेत गरेका छन् । उनका अनुसार पुस्तकको साधारण मूल्य २५० रुपैयाँ हो । तर बिक्री मूल्य रु. २०० र संस्थागत मूल्य रू. ५०० छन् । उनले चन्दा कसैसँग नदिने पनि घोषणा गरेका छन् ।

नेता यादवले उम्मेदवारी घोषणा गरेको सिरहा २ बाट ०७४ मा नेकपा माओवादी केन्द्रका सुरेश चन्द्र दास यादव र सिरहा ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका थिए ।

यो पटक सत्ता गठबन्धनबाट सिरहा २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादव र सिरहा ३ बाट माओवादीका विश्वनाथ साह उम्मेदवार बन्ने सम्भावना छ । यस्तै एमालेबाट सिरहा २ मा उम्मेदवारको टुङ्गो छैन भने सिरहा ३ बाट पुनः श्रेष्ठ उम्मेदवारी दिने लगभग निश्चित छ । अन्य पार्टीले पनि उम्मेदवार टुङ्ग्याएका छैनन् ।

म नेसपामा छैन: नेता यादव
बौद्धिक नेता यादवले आफू डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आवद्ध नरहेको दाबी गरेका छन् । उनले भने, ‘पार्टी गठन गर्ने बेलामा मेरो नाम त्यतिकै राखिदिनुभयो । तर म अहिले कुनै पार्टीमा छैन । स्वतन्त्र छु ।’

जनमोर्चा पार्टी हुँदै माओवादीमा छिरेका नेता यादव जहिल्यै डा. भट्टराईको साथ दिएका छन् । डा. भट्टराई माओवादी त्यागेर नयाँ शक्ति पार्टी गठन गर्दा नेता यादव पनि साथसाथ भए । त्यसपछि उपेन्द्र यादव पार्टीसँग एकीकरण गर्दा पनि नेता यादव साथ दिए । पछिल्लो समय भने डा. भट्टराईबाट उनी अलग्गिएका छन् । डा. भट्टराई प्रधानमन्त्री हुँदा नेता यादव प्रेस सल्लाहकार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *