प्रचण्डको सचिवालयले भन्यो- ‘निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुङ्गिएको जनाएको छ । अध्यक्ष प्रचण्डको सचिवालयबाट स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुङ्गिएको बताएकी हुन् ।

उनकाअनुसार अब केही दिनमा सिट बाँडफाँडसँगै उम्मेदवारीको समेत अन्तिम काम सम्पन्न हुनेछ । ‘एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो । तर धेरै योग्य र सक्षमहरू भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेदवार बन्नु सम्भव थिएन र छैन पनि,’ उनले भनेकी छन्, ‘त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशन समेत गरेको थियो ।’

दाहालले निर्वाचनमा घात प्रतिघात गर्ने छुट कसैलाई नभएको बताइन् । ‘हामीले प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनैपर्ने अनिवार्यतामा हामी छौँ । हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन,’ उनले अगाडि भनेकी छन्, ‘पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरूलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *