दशैं आयाे, सहकारीबाट पैसा फिर्ता आएन !

काठमाडाैँ । विगतको दशैंमा सहकारीहरूले आफ्नो सहकारीमा बचत गर्ने बचतकर्तालाई दशैंको मसलहरू किनेर दिने गर्थे । साथै सहकारीहरूले साधारण सभा राख्दा भव्यरूपमा भोजभतेर लगाउँथे । तर यसपालिको दशैंमा सहकारीहरूले न दशैंको मसल बचतकर्तालाई दिए, न त साधारण सभा नै राख्यो । न त बचतकर्ताको पैसा नै फिर्ता गर्न सक्यो । सहकारीहरूले जनताको पैसा फिर्ता नगरेपछि अहिले मानिसहरूलाई दशैं मनाउनै धाै-धाै परिरहेकाे छ ।

पछिल्लो समय सहकारीहरू यस्तो नराम्रोसँग डुबेका छन् कि यिनीहरूले पानीसमेत पिउन पाएनन् । अर्काका ठगेर वा लुटेर कमाएको धनसम्पत्ति छिटो समयसम्म टिक्दैन भनेर बुढापाकाहरू भन्ने गर्थे र अहिले यो उखान ठ्याक्कै सहकारीमाथि नै लागू हुन पुगेको छ । यिनीहरूले पहिला कर्जा खाने मानिसलाई मिटरब्याजमा पैसा लगाएर सुकुम्बासी बनाए । आज यिनीहरू नै सुकुम्बासी हुन पुगेका छन् ।

सहकारीहरूलाई जनताले अहिले ठग र चोरको नाम दिन्छन् । साथै अहिले कति सहकारीहरू डुबेर भाग्दा कति मानिसहरू खुसीसमेत भएका छन् । उनीहरू अहिले भन्छन्— जस्तो काम गरेको थियो, त्यस्तै फल प्राप्त भयो । साथै अब धेरै समयसम्म सहकारीहरू चल्न सक्दैन र यिनीहरू चलेपनि यिनीहरूलाई नाफा हुँदैन भनेर धेरै जनताहरूले थाहा पाइसकेका छन् ।

सहकारीहरू यसरी डुबेको वा भागेको देखेर पछिल्लो समय सहकारीमा आफ्नो खाता रहेका ९८ प्रतिशत मानिसले आफ्नो खाता नै बन्द गरिसकेका छन् । अब सहकारीमा मानिसले भुलेर पनि पैसा राख्दैनन् । सहकारी सञ्चालन गर्ने मानिसहरू शोषक, सामान्ती वा ठग हुन् भनेर जनताले थाहा पाइसकेका छन् । सहकारीकै कति मानिसहरूको घरखेत पनि सबै गुमेको छ र आज सडकमा बास भइरहेको छ ।

सहकारीहरूको ठग र लुटको विरोधमा अहिले जनताले बोल्न आँट गरिसकेका छन् भने सञ्चारकर्मीले कलम चलाउन थालिसकेका छन् । सिधासाधी जनतालाई मिटरब्याजमा कर्जा लगाएर गरिबको रगतपसिना खाएर आफू धनी बन्ने सामान्तीहरूलाई अब जनताले लखेट्ने दिन आइसकेको छ । धितो राखेर एक लाख कर्जा दिएमा सेवाशूल्क , सेयर र घुस गरेर २० हजार खाने र ८० हजार दिने तर कित्ता दिने एक लाखकै लिने । त्यस्तै यता २ करोडको धितो भएमा एक करोड दिने र एक करोड दिएकोबापत् पनि दश लाख घुस खाने । तीन कित्ता नतिर्नेबित्तिकै २ करोडको धितो एक करोडमा नै खाइदिने र ऋणीलाई सडकछाप बनाइदिने । साथै पहिला कर्जाको ब्याज १८ प्रतिशत भनेर दिने तर हिसाब गर्दा ४५ प्रतिशतसम्म पर्ने गर्छ ।

सहकारीहरूले यस्तै काम गरेर धेरै जनताहरूलाई लुटिसकेको छ र आज उनीहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । तर यस्ता ठगहरूलाई कारबाही गर्न सहकारी विभाग भने डराउँछ । सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित यस्ता सहकारीहरूलाई अनुगमन गरेर कारबाही गर्ने आँट नगरेर बरु यस्ता सहकारीहरूकै कार्यक्रममा अतिथि भएर जान्छन् र जनता ठग्न झन् हौसला दिने गर्छन् ।

आफू सञ्चालक वा कार्यसमितिमा रहेको सहकारी डुबेपछि पछिल्लो समय सहकारीका सञ्चालकहरू सहकारी विभागमा दिनँहुजस्तो धाउने गर्छन् । साथै आफ्नो नाम कार्यसमितिबाट हटाउन सहकारी विभागका महानिर्देशकलाई सहकारीका सञ्चालकहरूले ५ लाखदेखि २० लाखसम्म घुस रहेको भनेर पनि सुनिन्छ । सहकारी डुबेपछि सहकारीका सञ्चालकहरू भोलि आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो नाम वा परिवारको नाममा भएको समपत्तिहरू अर्काको नाममा नामसरी गरिरहेका छन् ।अहिले जनताहरू भन्छन्— बरु मिठो-मिठो खाऔँ तर सहकारीमा पैसा नराखौँ । जनताबाट यस्तो नराम्रोसँग सहकारीहरू नङ्ग्रियो कि आज जनताले सहकारीमाथि विश्वास नै गर्न छोडे ।

एक दिनमा बजार प्रतिनिधिले बजारबाट एक लाखदेखि तीन लाखसम्म पैसा उठाउने गर्थे र व्यापारी र जनताले पनि खुशी र विश्वासका साथ पैसा राख्ने गर्थे । तर अहिले दिनको २ हजारदेखि ५ हजारपनि पैसा उठ्दैँन र कति मानिसहरूले पैसा राखेपनि उनीहरू आफ्नो पैसा डुब्छ कि भन्ने त्रासमा रहेका छन् । अहिले सहकारीहरूले २४ प्रतिशतदेखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर जनताको पैसा उठाइरहेका छन् र फसाइरहेका छन् । अब जनताले ब्याजको लोभमा सहकारीमा पैसा राख्नु हुँदैन । किनभन्दा सहकारीमा पैसा राख्नु भनेको नै जुवातास खोल्नु वा डुब्नु हो । सहकारी भनेको जनतालाई सेवा दिन खोलेको संस्था नभई जनतालाई ठग्न र लुट्न खोलेको संस्था हो भनेर अहिले जनताहरू बुझ्रछन् ।

पहिला-पहिला गाँउमा शोषक सामान्ती मानिसहरूले सिधासाधी जनतालाई एक लाख पैसा दिने गर्थे र १० लाखको तमसुक गराउने गर्थे । साथै पछि उनीहरूलाई सुकुम्बासी बनाउने गर्थे । अहिले सहकारीहरूले पनि यही काम राम्ररी सिकेका छन् । अहिले ८० प्रतिशत मानिसहरूले सहकारीबाट महँगो ब्याजमा ऋण लिएर तिर्न सकेका छैनन् । अब कि सहकारी वा बैंकहरूले कर्जाको ब्याज घटाउनुपर्छ होइन भने सहकारी र बैंकबाट लिएको ऋण अब जनताले तिर्न छोड्ने छन् ।

यी वित्तीय संस्थाहरूले कर्जाको ब्याज महिनैपिछे बढाउने गर्छन् । वित्तीय संस्थाहरूको विरोधमा अहिले जनताहरू सडकमा उत्रिसकेका छन् र अहिले सहकारी र बैंकहरूले महँगो ब्याज दिन्छु भनेर मानिसहरूलाई लोभ्याउँदा पनि मानिसहरू पैसा राख्न तयार छैनन् । अब झन् वित्तीय संस्थाहरू डुब्छन् र दिनहुँ रूपमा नै भाग्ने गर्छन् । सहकारीमा पैसा राख्ने मानिसहरूले अहिले साँवा त पाएका छैनन् भने ब्याजको त कुरै छोड्दिऔँ । मलाई ब्याज चाहिँदैन साँवा मात्र फिर्ता दिनुस् भनेर रोइकराइ गर्दा पनि सहकारीले पैसा फिर्ता गर्दैन । सहकारीमा पैसा राख्ने मानिसहरू अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । उनीहरूमा न त दिनमा भोक नै छ न त रातमा निन्द्रा नै ।

अबदेखि जनताले सहकारीमा पैसा राख्नु हुँदैन र विश्वास पनि गर्नु हुँदैन । किनभन्दा यिनीहरू कतिखेर तपाईंलाई सडकछाप बनाएर भाग्छन् भनेर कसैलाई थाहा हुँदैन । पछिल्लो समय सहकारीहरूले जनताको पैसा उठाउनका लागि बुढाबुढीलाई लैरो उपहार दिने र आफ्नै भवन छ भनेर फसाउने । यिनीहरूले यसरी अहिले आफ्नो नयाँ अभियान शुरू गरिरहेका छन् ।

सहकारीमा अहिले जनताले जतिसुकै बढीब्याज पाएपनि पैसा राख्दैनन् । यि वित्तीय संस्थाहरूले पहिला नाफा, घुस खानाका लागि घरजग्गा, गाडी र सेयरमा आफ्नो सम्पूर्ण लगानी गरे । बजारमा वित्तीय संस्थाहरू डुबेसकेको भनेर बच्चादेखि बुढोसम्मले भन्ने गर्छन् । सहकारी र बैंकहरूमा अहिले पैसा निकाल्नेको भीड छ भने राख्ने कोही छैन । काखमा बच्चा बोकेर र हातमा लैरो समातेर समेत सहकारी र बैंकहरूमा आफ्नो पैसा निकाल्न मानिसहरू लाइनमा घाम न पानी भनेर बसिरहेका छन् ।
दुई वर्षअगाडि आनाको ७० लाखमा किनेको घडेरी अहिले दुई लाखमा बिक्री हुँदैन । अहिले घरजग्गा बेच्ने यत्तिकै छन् भने किन्ने कोही छैन । पछिल्लो समय मालपोत कार्यालय पनि सुनसान देखिन्छ र कहिलेकाहीँ मात्र एकदुईवटा घरजग्गा नामसरी हुने गरेको पाइन्छ । त्यस्तै यता घरजग्गा कारोबार गर्ने दलालीहरू बैंकको ऋण तिर्न नसकेर भागिसकेका छन् ।

साथै घरजग्गा, गाडी र सेयर धितो राखेर वित्तीय संस्थाबाट कर्जा खाने मानिसहरू हामी ऋण तिर्न सक्दैनौँ भनेर हात उठाइरहेका छन् । एक वर्षअगाडि एक कित्ता सेयरको ४ हजारमा किनेको तर अहिले बेच्छु भन्दा सय रुपैयाँमा बिक्दैन । त्यस्तै यता एक वर्षअघि ५० लाखमा किनेको गाडी अहिले एक लाखमा बिक्री हुँदैन । बजारमा अहिले पैसाको अभाव रहेको छ भने वित्तीय संस्थामा तरलता रहेको छ ।

वित्तीय संस्थाहरू घाटामा गएपछि त्यहाँँका कर्मचारीहरूले पनि एक वर्षदेखि तलब पाएका छैनन् । यसपालिको दशैंमा सहकारी र बैंकले बचतकर्ताको पैसा फिर्ता नगरेपछि कति मानिसहरू आफ्नोगाउँ समेत जान पाएनन् । साथै आफूलाई समस्या पर्दा नै काम लाग्छ भनेर खाइनखाइ गरेर वित्तीय संस्थामा राखेको पैसा दशैंजस्तो चाडपर्वमा समेत वित्तीय संस्थाले फिर्ता नगरेपछि मानिसहरू आफूलाई आवश्यक पर्ने सामानहरू किनमेल गर्नबाट नै वञ्चित भएका छन् ।

जनताको पैसा लिनेबेला हाँसेर लियो तर फिर्ता गर्ने समयमा दाँतबाट नै पसिना निकाल्यो । सहकारीहरू ठग र चोर हुन् भनेर जनताहरूले यत्रो आवाज उठाउँदा पनि सहकारी विभाग चुपचाप हेरेर बसिरहेको छ । सहकारी विभाग न त यस्ता सहकारीहरलाई कारबाही नै गर्न सक्छ न त सहकारीमा पैसा नराख्नुस् भनेर जनतालाई सचेत नै गराउन सक्छ ।

पछिल्लो समय सहकारीहरू रातारात भागिरहेका छन् र दिनहुँ १५ ओटा समेत सहकारीहरू भागिरहेको भनेर बजारमा सुनिन्छ । सहकारीकै कारण अहिले जनताको घरमा रुवाबासी चलिरहेको छ । तर सहकारी विभागलाई जनताको मतलब नभइ अहिलेपनि करकै माया रहेको छ । देशैभरि ३५ हजार २ सय ३९ ओटा सहकारीहरू दर्तामा रहेका छन् र यी सहकारीहरूमा ९१ लाख जनता ११ खर्ब पैसा जम्मा गरेका छन् । यो पैसा अहिले डुब्दै छ र सहकारी धमाधम भाग्दै छ । जनताको घरघरमा रुवाबासी भइरहेको छ । साथै सहकारीमा काम गर्ने कर्मचारीहरू कति त तलबबिना नै जागिर छोडिरहेका छन् भने कति तै सहकारी डुब्छ र हामी पनि फस्छौँ भनेर भटाभट आफ्नो जागिरनै छोडिरहेका छन् । एउटै घरमा ७ ओटासम्म समेत सहकारी र बैंकहरूको बोर्ड वा अफिस रहेको देखिन्छ ।

च्याउ उम्ररिएको जसरी नै सहकारी र बैंकहरू उम्ररिएका छन् । एक लाख रुपैयाँ पैसा मुद्दती खातामा राख्छु भनेमा सहकारी र बैंकका कर्मचारी नै त्यो मानिसको घर पत्ता लगाएर घरमै पैसा लिन पुग्छन् । सिधासाधी जनतालाई चिसो र तातो खुवाउँदै फसाउने काम वित्तीय संस्थाहरूले गरिरहेका छन् । साथै पछिल्लो समय कति वित्तीय संस्थाहरूले विभिन्न विज्ञापन बजाएर वा बढी ब्याज दिन्छु भनेर जनतालाई ठग्ने र लुट्ने काम गरिरहेका छन् ।

अहिले बैंक, फाइन्स र सहकारीमाथि जनताको विश्वास गुमिसकेको छ र जनताको विश्वास गुमाउने बित्तिकै यिनीहरू डुबिसकेका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष वा चेयरम्यानहरू सहकारी डुबेपछि अफिस नै आउँदैनन् र कसैले देख्छ कि भनेर लुकीलुकी हिड्ने गर्छन् । साथै अहिले बजारमा दिनहुँ सहकारीहरू डुबेर भागेको र पैसा राख्ने मानिसहरू कंगाल भएको कुरा सुनिन्छ । सहकारीमा अहिले २० हजारको चेक लिएर गएमा त्यहाँ त्यो चेक साट्दैँन र एक महिनामा ५ हजार लिएर जानुस् भनेर भन्ने गरिन्छ तर त्यो साँवा हो कि ब्याज भनेर कसैलाई थाहा छैन ।

त्यस्तै यता बैंकमा एक लाखको चेक साट्नु परेमा एक हप्ताअगाडी नै जानकारी गराउनुपर्छ । साथै पैसा ननिकाल्नुस् बरु हामी ब्याज बढाउँछौँ भनेर भन्ने गरिन्छ । अरु मानिसहरू यसरी डुबेको देखेर अब हामीले पनि हाम्रो पैसा निकाल्न शुरू गर्नुपर्छ र अरुलाई पनि सचेत गराउनुपर्छ । आज ब्याजको लोभले भोलि साँवा नै डुब्ला है, होसियार ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *