पिङ संस्कृति : गाउँमा हराउँदै, सहरमा भित्रिदै !

‘दसैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउला
धत्त पापी म त छुट्टै बसुँला !’

भरतपुरमा पढ्न बसेकी गोर्खाकी कमला श्रेष्ठले कान्छीदेखि बूढी औंलासम्म पालैपालो औंला भाँचेर दसैँको समयमा भन्ने यो उक्ति केटाकेटीदेखि वृद्धवृद्धाको मुखसम्म झुण्डिएको छ । दसैँ नजिकिँदै गर्दा सबैलाई यो उक्तिको सम्झना गराउँछ । जतिपटक सुने पनि बासी लाग्दैन यो उक्ति ।

मीठो खाने, राम्रो लाउने, इष्टमित्र परिवारमा भेटघाट गर्ने, ठूलाबडाको हातबाट आशीर्वाद लिने र घरकै दलिनमा भए पनि एकपटक धर्ती छोड्न चचहुई–चचहुई गरी पिङ खेल्ने दसैंको विशेषता नै हो ।

जो कोही मानिस पिङमा मच्चिएपछि मुखबाट फ्वात्त फुत्किने शव्द हो–‘चचहुई–चचहुई’ । दसैं नजिकिँदै गर्दा पिङ हाल्ने काम हिजोआज गाउँतिर भन्दा पनि सहरतिर बढी छ । सहरमा क्लब, समूह, टोल सुधार समिति वा युवाहरुको कुनै समूह मिलेर पिङ हालेको पाइन्छ ।
गाउँघर तिर भने हिजोआज पिङ संस्कृति सहरको तुलनामा कम देखिएका छन् । भरतपुर २५ का दीपक खनाल भन्छन्, ‘गाउँमा ठूला लिङ्गे पिङ हाल्ने मान्छे पाइँदैन, भएका युवा धेरै विदेश छन्, कति गाउँका युवा पढ्नलाई सहर पसेका छन् । गाउँमा पिङ हाल्ने मान्छे भेटिदैन ।’

उनले भने, ‘सहर बजारमा पिङ संस्कृति जोगिएको छ, सहरमा पढ्न बसेका वा व्यापार व्यवसायमा लागेका युवाले सानो ठाउँ फेला पारे पनि दसैँमा पिङ हालेका छन्, गाउँमा जनशक्तिको अभावले दसैँको पिङ संस्कृति हराउँदै गएको छ ।’

उनले पहिला गाउँमा मात्र भेटिने पिङ अहिले सहरबजार तर्फ सरेको बताए । उनले भने, ‘गाउँमा बूढापाकामात्र छन्, युवाहरु त विदेश छन्, सहरबजारमा छन्, गाउँका बूढापाकाले न पिङ हाल्न सक्छन्, न पिङ मच्याउन ? अहिले दलिन वरिपरि रमाइरहेका बूढापाकाहरुले पिङ संस्कृति नाति पुस्तालाई हस्तान्तरण गरिसके तर नाति पुस्ता यहाँ छैन । अनि यहाँ कसले हाल्ने पिङ ?’
दसैंको पिङ भनेपछि सबै हुरुक्कै हुन्छन् । दसैंको समयमा त पिङ खेलेर एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यता पनि छ ।

भतरपुर– ६ का शिक्षक राजबहादुर भुजेलले भने, ‘दसैँमा पिङ त खुब मच्चाइन्छ, तर गाउँतिर पिङ बिरलै पाइन थाल्यो । सहरबजारमा बरु पिङ देख्न पाइन्छ, गाउँतिर ठूला बाँस गाडेर बाबियो बाटेर पिङ हाल्ने मान्छे पाउनै मुस्किल भयो ।’
‘मान्छेहरु पिङजस्तै हाइकिङ खेल्न कहाँकहाँ गएर कति पैसा खर्च गर्छन्, हामीले गाउँघरकै युवा मिलेर थोरै लगानीमा पिङ हालेर किन नखेल्ने भन्यो, तर पिङ हाल्ने र खेल्ने मान्छे नै गाउँमा छैनन्’ उनले भने, ‘म त भन्छु, प्रत्येक गाउँ या टोलमा पिङ हुनुपर्छ । यो हाम्रो संस्कृति मेटिन हुँदैन, गाउँमा कताकता देखिने पिङ संस्कृतिलाई जोगाउन लाग्नुपर्छ । पहिला सहरबजारका युवा पिङ खेल्न गाउँ आउथेँ, अहिले गाउँका मानिस पिङ खेल्न सहरबजार जानुपर्ने अवस्था आयो ।’

चारैतिर हिन्दूहरुको महान् चाड दसैंले छोपिसकेको छ । केटाकेटीहरु नयाँ नाना र मीठो खान पाइने आशामा फरुङ्ग भएका छन् । बजारमा चहलपहल बढिरहेको छ । हाम्रो समाजमा कसैलाई दसैँ खर्चको व्यवस्था गर्न दौडधूप छ । कसैले दसैँ खर्च छुट्याइसकेका छन् । चारैतिर भीडभाड देखिन्छ । रेडियो र टेलिभिजनमा मंगलमय मालश्री धुन गुञ्जन थाले । जमराको निम्ति रोपेको मकै र जौको जोहो भइसक्यो । आँगनीको डिलमा कोपिला लागेका मखमली र सयपत्री फूल पनि ढकमक्क भएर फुल्न थालेका छन् । घर–घरमा सुरु भएको छ भवानीको पूजा र आराधना ।

भरतपुरका विष्णु कँडेलका अनुसार पहिला पिङ सहरबजारमा निक्कै कम हुन्थ्यो पिङ । गाउँघरमा जति पिङ देखिन्छ, त्यति सहरबजारमा देखिँदैन । अहिले सहरबजारमा बढी देखिन थालेको छ पिङ । गाउँमा न खेल्ने मान्छे छ, न त पिङ हाल्ने मान्छे ।
वृन्दाबनमा चराले गीत गाइरहेको बेला भगवान कृष्ण पनि पिङ मच्चाइरहेका हुन्थे रे, धार्मिक ग्रन्थअनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे रे । पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् रे । कृष्ण–राधा दिनभर पिङ मच्चाउथ्यें रे । पिङको इतिहास खोज्दै जाने हो भने भगवान कृष्णको पालासम्म पुग्नुपर्ने रहेछ । उनको पालाभन्दा अझ अगाडिबाट पिङको विकास भएको पाइयो ।

दसैंमा हालेको पिङ तिहारसम्म राखिन्छ । दसैंमा राखिने पिङ मनोरञ्जन र रमाइलोको साधन बनेको छ । गाउँ घरतिर पीपल, बकैनालगायतको रुखमा, घरको पालीमा पनि पिङ हाल्ने चलन छ । बढीमात्रामा केटाकेटी पिङ खेल्न मरिहत्ते गर्छन् । अभिभावकले छोराछोरीलाई उमेरअनुसारको पिङ हाल्छन् । पिङको रस बसेपछि केटाकेटीहरु दसैंका मीठा परिकार खानसमेत भुल्छन् ।

पालीमा हालेको सानो पिङ मच्चाउँदा केटाकेटीहरु ‘खुट्टाले मैले दलिन छोए, तैले छुन सकिनस्’ भन्दै प्रतिस्पर्धासमेत चलाउँछन् । वैज्ञानिक भनाइअनुसार दसैंमा धेरै खाने भएकाले पनि पाचनशक्तिको लागि पिङ खेल्ने चलन सुरु भएको हो । दसैंमा टन्न खाएको चीजलाई सजिलैसँग पचाउन पिङ खेल्नुपर्छ भन्ने मान्यता पनि छ ।

भरतपुर–११ रामचन्द्र आचार्यले पहिलेको तुलनामा अहिले कम मात्रा पिङ बनेको बताउँछन् । उनी भन्छन्, ‘पहिले प्रत्येक गाउँमा तीनचारवटा पिङ हुन्थे, गाउँका मानिस खेल्नको लागि भीड लाग्थ्यो तर अहिले त्यस्तो छैन, कताकतै मात्र देखिन्छ पिङ । पिङको संस्कृति मेटिदैँ गएको महुसुस भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *