माओवादीले चुनावमा २० जनवर्गीय संगठन परिचालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ जिल्लाभित्र क्रियाशील २० जनवर्गीय संगठनलाई आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ ।पार्टीको काठमाडौँ जिल्ला समन्वय समितिले शुक्रबार सबै जनवर्गीय संगठनका अध्यक्षहरूसँग बैठक बसी सो निर्णय लिएको हो ।

माओवादीको काठमाडौँ जिल्ला समन्वय समिति संयोजक उमेश स्थापितका अनुसार शुक्रबार सम्पन्न किसान, महिला, शिक्षक, व्यापार, नेवा, युवा, खेलकुद, विद्यार्थी, संचारलगायत क्षेत्रमा रहेका जनवर्गीय संगठनका काठमाडौँ कमिटी अध्यक्षहरूसँगको भेलाले आगामी निर्वाचनमा पार्टीका पक्षमा प्रचार प्रसार गर्नेगरी खट्ने/खटाउने निर्णय भएको हो ।

‘हामीले विगतको निर्वाचनबाट पाठ सिक्दै यसपटक गाउँनगरसम्मका कमिटीलाई निर्वाचनमा परिचालन गर्नुपर्ने आवश्यकता छ, घर घरमा पुगेर मतदातालाई भेट्ने गरी प्रचार-प्रसारमा लाग्ने निर्णय भएको छ’ स्थापितले भने । उनले सबै जनवर्गीय संगठनलाई निर्वाचनमा कस्तो भूमिका खेल्ने भन्ने बारेमा जिम्मेवारीसमेत तोकिएको र दसैँपछि प्रचार प्रसारमा लाग्ने निर्णय भएको बताए ।

भेलामा पार्टीको काठमाडौँ जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य पावर्ती थापाले जनवर्गीय संगठनलाई मतदाता शिक्षासँग जोड्नुपर्ने आवश्यकता रहेको बताएको थिइन् । ‘हामीले विगतमा चुनाव प्रचार गर्दा बाटोमा हिँड्ने र र्‍याली गर्ने गर्‍यौँ । अब प्रत्येक घरमा पुगेर पार्टी र सरकारले गरेका राम्रा कामहरूबारे बुझाउनुपर्छ’ उनले भनिन् ।त्यस्तै काठमाडौँ जिल्ला इन्चार्ज कुमार पौडेलले जनआधातिर पार्टी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले सबै जनवर्गीय संगठनलाई एकताबद्ध बनाएर चुनावमा परिचालन गर्ने निर्णय भएको बताए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *