पोखराका मेयरलाई वडा सदस्यको सार्वजनिक पत्र- ‘हामीलाई कर्मचारीले टेरेनन्, सरुवा गर्दिन पर्‍यो’

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई आफ्नै नगरका वडा सदस्यले सार्वजनिक पत्र लेखेर कर्मचारी सरुवा गरिदिन आग्रह गरेका छन् ।

वडा नम्बर १० का सदस्य पूर्ण न्यौपानेले कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको र त्यस्ता कर्मचारीका कारण काम गर्न नसकेको भन्दै सरुवाका लागि आग्रह गरेका हुन् । ‘पोखरा १० को जनप्रतिनिधिको हैसियतले यो सार्वजनिक पत्र लेख्दैछु । महानगरका ५ औँ तहको कर्मचारीले कार्यकारी वडाहाकिमलाई टेरपुच्छर लाएको देखिएन,’ उनले भनेका छन्, ‘कामै नगर्ने कर्मचारीलाई अन्त कतै सरुवा गरिदिनोस् भन्दा प्रमुख प्रशासकीय अधिकृतले गर्न सक्नु भएन । जनताको काम नगर्ने कर्मचारी अनि त्यस्तालाई कारबाही वा सरुवा गर्न नसक्ने हुँदा हामीले जनतालाई सेवा कसरी दिने ?’

कर्मचारी तन्त्रमा प्रणाली नभएको भन्दै उनले गम्भीर भइदिन मेयर आचार्यलाई आग्रह गरेका छन् । ‘कर्मचारीतन्त्रमा किन प्रणाली छैन ? चेनअफ कमाण्ड किन छैन ? त्यसमाथि हामीले जनताका अघि कसरी नाकमुख देखाउने ?,’ उनले अघि थपे, ‘काम नगर्ने कर्मचारी, अपजस हामीलाई भइरहेको छ । यसबारे मेयरसाब निकै गम्भीर हुन आवश्यक देखिन्छ ।’

यसबारे धेरै पटक आग्रह गर्दा पनि मेयरलाई भेट्न नसकेको समेत उनले गुनासो गरेका छन् । ‘मेयरसाव व्यस्त । जनप्रतिनिधि व्यस्त । कर्मचारीतन्त्र अस्तव्यस्त हुँदा जनतालाई दुख भयो,’ न्यौपाने भन्छन्, ‘यो निकै संवेदनशील समस्या हो । यसबारे मेयरसावबाट तुरुन्त एक्सन हुने विश्वास छ ।’ उनले कर्मचारीकै कारण जनप्रतिनिधिले चाहेर पनि जनताको हितमा काम गर्न नसकेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *