प्रदेश मन्त्रालयविरुद्ध मुद्दै-मुद्दा, ‘ठूला माछा’ समात्न आग्रह !

पोखरा । गण्डकी प्रदेशमा एकैवर्ष करिब १साढे ११ सय भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । अख्तियार पोखरा कार्यालय पोखराकाअनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय १८ उजुरी परेको हो । उजुरीमध्ये ७ सय ६ फर्छ्याैट भइसकेको छ । वर्षेनी अख्तियारमा पर्ने मुद्दाको चाङ उत्तिकै बढेको छ । ०७७/०७८ मा ६ सय ९२ वटा मुद्दा दर्ता भएका थिए । अख्तियार पोखराकी प्रमुख पार्वती शर्माले आयोगको ३२औं प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाइन् ।

अख्तियारमा परेका मुद्दामध्ये सबैभन्दा बढी स्थानीय तहका छन् । उपभोक्ता समिति र निर्माण कम्पनीविरुद्धका मुद्दा बढ्दै गएको अख्तियारले जनाएको छ । स्थानीय तहमा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित १ सय ६२ उजुरी परेको थियो । स्थानीय तहमा नै शिक्षा मन्त्रालयसँग सम्बन्धित ४४ र समग्रमा ४ सय ५७ उजुरी परेको थियो भने ३ सय २१ छिनोफानो भएको आयोगले जनाएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । उद्योग, पर्यटनविरुद्ध ७७ वटा भ्रष्टाचारका उजुरी परेकोमा ५१ वटा मात्र फर्छ्याैट भएका छन् । भौतिक मन्त्रालयमा ४१ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख छ । भूमि, कृषिमा १३ उजुरी, स्वास्थ्यमा ४० उजुरी पर्दा शिक्षामा ५ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका छन् ।

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये कास्कीमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । नवलपुरको उजुरी पोखरामा आउँदैन । कास्कीबाट मात्रै ४ सय ५७ भ्रष्टचारका उजुरी दर्ता भएका हुन् । तनहुँमा १ सय ३७, पर्वतबाट १ सय १५, स्याङ्जाबाट १ सय ७, बागलुङबाट ८९, गोरखाबाट ७९, म्याग्दीबाट ६५ र लमजुङबाट ४६ उजुरी परेको छ । मुस्ताङमा सबैभन्दा कम १० वटा र मनाङमा १३ वटा उजुरी दर्ता भएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले अख्तियारले ‘साना माछा’ मात्रै हेरेर नहुने भन्दै ‘ठूला माछा’ समाउन आग्रह गरे । ‘ठूला माछा समाए मात्रै समाजमा भ्रष्टाचार गर्न सल्बलाएकाहरु आत्तिएर भ्रष्टाचार गर्न बन्द गर्छन्,’ उनले भने, ‘ठूला माछा पनि समाउनुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *