४० करोड रुपैयाँको चिट्ठा जितेका व्यक्ति ‘दिक्क’

काठमाडाैँ । एक जना भारतीय चिट्ठा विजेताले आफूलाई अभूतपूर्व रूपमा आर्थिक सहयोगको अनुरोध आएकाले चिट्ठा जितेकोमा पश्चात्ताप भइरहेको बताएका छन् ।
दक्षिण राज्य केरलाका अटो चालक अनुपले २५ करोड भारु अर्थात् नेपाली करिब ४० करोड रुपैयाँको चिट्ठा सेप्टेम्बरको सुरुमा जितेका थिए । तर त्यसको एक हप्तापछि उनले एउटा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो परिवार र आफूलाई दुख नदिन नचिनेका मानिसहरूलाई अनुरोध गरे । ‘मैले नजितेको भए हुन्थ्यो,’ उनले भने, ‘बरु तृतीय पुरस्कार शायद राम्रो हुन्थ्यो ।’
अनुपले उक्त भिडिओमा व्यापक रूपमा सर्वसाधारणको ध्यान आफूमा परिरहेकाले त्यसबाट जोगिन बसाइँ सर्ने योजना बनाएको बताएका छन् । उक्त चिट्ठा जितेपछि उनी राष्ट्रिय खबरहरूमा छाएका थिए । त्यो राज्यको इतिहासमा सबैभन्दा ठूलो धनराशिको चिट्ठा थियो ।
अनुप के भन्छन् ?
उनले १७ सेप्टेम्बरमा टिकट खरिद गरेका थिए । त्यो निर्णय रोजगारीका लागि मलेसिया उड्न तय भएको समयभन्दा एक दिन अघि लिइएको थियो ।
छोराको खुत्रुके फुटाएर उनले चिट्ठा खरिद् गरेका थिए । उनले चिट्ठा जितेको सार्वजनिक भएपछि सो परिवारले सबैको ध्यान खिचेको थियो । ‘जितेपछि म ज्यादै प्रसन्न भएको थिए,’ उनले हालैको एउटा भिडिओमा भनेका छन्, ‘घरमा मानिसहरू र क्यामेराहरू थिए र हामी खुसी थियौँ।’
तर चाँडै नै अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनी बताउँछन् । ‘म घरबाट बाहिर निस्कन सक्दिनँ । म कतै जान सक्दिनँ । मेरो बच्चा बिरामी छ तर म उसलाई अस्पतालसमेत लैजान पनि सक्दिनँ ।’
सरकारी कर कटाएर करिब २४ करोड रुपैयाँ प्राप्त गर्ने भएका उनले प्रत्येक दिन मानिसहरू आफ्नो घरमा आउन थालेको बताए । ‘सबैलाई म के मात्र भन्न सक्छु भने मैले अझै पैसा पाइसकेको छैन । मैले जति पटक भने पनि कसैले पनि मेरो समस्या बुझेको जस्तो देखिँदैन,’ उनले भने ।
अनुपका अनुसार उनी र उनको परिवार सबैतिरबाट व्यक्त भइरहेका चासोबाट जोगिन आफन्तहरूकोमा बसिरहेका छन् । राज्य सरकारले अनुपका लागि आर्थिक व्यवस्थापन र रकमको सदुपयोगका विषयमा एक दिने तालिमको आयोजना गर्ने बताएको छ । -बीबीसी








