गण्डकीका सांसद र स्वकीय सचिवले बुझे साढे ३३ करोड, चियापानमा मात्रै १ करोड खर्च

पोखरा । प्रदेशसभा स्थापना भएपछि सांसद र उनीहरूको स्वकीय सचिवले मात्रै साढे ३३ करोड रुपैयाँ तलबभत्ता र सुविधा बुझेका छन् । सुरु वर्षदेखि हालसम्म ३३ करोड ४३ लाख रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ । प्रदेशसभाका सदस्य र पदाधिकारीको पारिश्रमिकमा सबैभन्दा धेरै १५ करोड ६५ लाख खर्च भएको छ ।

उनीहरूका स्वकीय सचिव, कार्यालय सहयोगी र सवारी चालकले ७ करोड ४३ लाख बुझेका छन् । दुई वर्षसम्म स्वकीय सचिवको व्यवस्था थिएन । पछिल्लो ३ वर्षमा बुझेको खर्च ७ करोड ४३ लाख हो । सदन र समितिहरूको बैठकभत्तामा २ करोड ५३ लाख रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ । सांसदहरूको आवास, फर्निचर, सञ्चार, धारा, बिजुली र निजी सचिवालय बन्दोबस्तका लागि ५ करोड ४० लाख तथा इन्धन र मोबिलका लागि ६१ लाख खर्च भएको छ ।

यस्तै, ५ वर्षको अवधिमा चियापानमा मात्रै करिब १ करोड खर्च भएको छ । प्रदेशसभा बैठक र समितिको चियापानमा करिब ३० लाख र संसदीय दलको चियापानमा करिब ६५ लाख खर्च भएको हो ।

सांसदहरुबीच शुभकामना आदानप्रदान, अन्तरक्रिया र अन्तरप्रदेश भ्रमणमा ३३ लाख ४१ हजार खर्च भएको छ । पहिलो आर्थिक वर्ष २०७४÷०७५ को ४ महिनामा २ करोड ५८ लाख निकासा गएको देखिन्छ भने पछिल्लो वर्ष ५ करोड २० लाख निकासा भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा धेरै ८ करोड ४६ लाख, २०७७÷०७८ मा ८ करोड २४ लाख, २०७८÷०८९ मा ७ करोड ८६ लाख र चालू वर्षको हालसम्म १ करोड ६ लाख खर्च भएको देखिन्छ । त्यसबाहेक मन्त्रीहरूको हिसाब यहाँ जोडिँदैन । उनीहरूको पारिश्रमिक, सुविधा देखि सचिवालय बन्दोबस्तीसम्मका खर्च मुख्यमन्त्री कार्यालय मार्फत हुन्छ । हाल गण्डकीमा १२ जना मन्त्री छन् भने ४६ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *