पोखरामा शताब्दीअघि देखि शुरु भएको टुँडिखेल मेला अहिले पनि हुने

पोखरा । ठ्याक्कै वर्ष याद नभएपनि पोखरा टुँडिखेलको मेला १ शताब्दी भन्दा पुरानो मान्छन् बुढापाकाहरू । दसैँका लागि रासनदेखि लत्ताकपडा र खसीबोका किन्ने जमघटका रूपमा उक्त मेला शुरु भएको हो ।

फूलपातीदेखि टिकाको भोलिपल्टसम्म यहाँ मेला लाग्दै आएको छ । उही ऐतिहासिक मेला अहिले पनि हुने भएको छ । ‘मुस्ताङदेखि च्याङ्ग्राहरू टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरूबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरूले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ति र विनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैँ भित्रिन्थ्यो,’ जानेबुझेकाहरुको अनुभव यस्तो छ ।

राष्ट्रिय उच्च माविका प्रधानाध्यापक कृष्णलाल बास्तोला पोखरा टुँडिखेलमा हुने ऐतिहासिक मेलाले दसैँ भित्र्याउने बताउँछन् । ‘पोखरामा दसैँको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै यकिन छैन,’ उनले भने, ‘तर, शताब्दीअघि नै स्वतःस्फूर्त रूपमा यो मेला हुँदै आएको बुझिन्छ ।’

राष्ट्रिय मावि २००६ सालमा खुलेको हो । त्यसअघि देखि नै यहाँ मेला लाग्ने गरेको थियो । अहिले मेलाको व्यवस्थापन स्कुलले नै गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिले मेला गरेर भएको आम्दानीले स्कुल सञ्चालनमा खर्च गर्छ । ‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्री वितरण गर्थे । अन्त पाइँदैनथ्यो, उनले अघि भने, ‘च्याङ्ग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचीन हाट बजार थियो ।’

अहिले आयोजकले भेडाच्यांग्रा बेच्ने १० वटा गोठ बनाउने तयारी गरेको छ । १ सय ५० स्टलबाट दसैँका सामग्री विक्री गरिने मेला समितिका संयोजक बलराम अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *