फोहोर उठाउने कर्मचारीले उठाए दशैं खर्च, पैसा नदिए फोहोर नउठाउने धम्की

पोखरा । पोखरा महानगरपालिकाले फोहोर उठाउने जिम्मा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिएको छ । ठेकेदारले सेवाग्राहीसँग निश्चित शुल्क उठाएर २० प्रतिशत महानगरलाई दिन्छ भने ८० प्रतिशत आफैले राख्छ ।

सेवाग्राहीले नियमित रूपमा कार्ड नै बनाएर पैसा तिर्दै आएका छन् । तर अहिले दशैंको मुखमा फोहोर उठाउन खटिएका कर्मचारीले दशैं खर्च माग्दै पैसा नदिएसम्म फोहोर नउठाउने चेतावनी दिँदै हिँडेका छन् ।

‘फोहोर बोक्ने गाडी आएपछि सेवाग्राही फोहोर लिएर निस्किन्छन् । गाडीमा हाल्नुअघि त्यहाँका कर्मचारीले पैसा माग्छन् । पैसा नदिए फोहोर नउठाउने भनेर हिँडे,’ सेवाग्राही अशोक भण्डारीले भने, ‘हामी सधैँ फोहोर फाले बापत कर तिर्छौँ । अहिले फेरि फोहोर उठाउनेले नै पैसा माग्न मिल्छ ?’ अधिकांश सेवाग्राही फोहोर लिन आउने कर्मचारीको व्यवहारले आजित भएका छन् ।

शनिबार बिहानै पोखराका रोहित बस्नेतले स्टाटस लेखे, ‘पोखरामा (दशैं खर्च) भन्दै फोहर उठाउने गाडीका कर्मचारीले (पैसा नदिए फोहर नउठाउने) भन्दै पैसा उठाएको देखियो । यसरी पैसा उठाउनु कत्तिको जायज हो ? महानगरपालिकाको नियम अनुसार यिनी कर्मचारीको सेवा सुविधा छैन र ?’ दैनिक फोहोरको शुल्क तिरेर पनि दशैं खर्चको नाममा जबरजस्ती पैसा माग्दा उपभोक्ता मर्कामा परेका छन् ।

महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल धेरै वर्षदेखि यो समस्या देखिएको र पटक पटक त्यसो नगर्न निर्देशन दिएको बताउँछिन् । ‘भनिरहेका छौँ । तर नटेर्ने अवस्था आयो । भन्छौँ पुनः एकपटक,’ उनले भनिन्, ‘पोहोर परार पनि यस्तै गुनासो आएको थियो । हामीले कम्पनी मार्फत सचेत गराएका हौँ ।’ अहिले पनि फोहोर उठाउने जिम्मा लिएका कम्पनीहरूलाई राखेर पैसा नउठाउन निर्देशन दिने बरालले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =