बैंकले ब्याजदर बढाएपछि पोखराका होटल व्यवसायीको विरोध

पोखरा । बैंक तथा वित्तीय संस्थाहरूले असोज १ गतेदेखि लागू हुने गरी बैंकको ब्याजदर बढाएका छन् । बर्सेनि ब्याजदर बढाउँदा व्यवसायीलाई मर्का परेको भन्दै पोखराका होटल व्यवसायीले उक्त निर्णय फिर्ता लिन र ब्याजदर नबढाउन आग्रह गरेका छन् ।

होटल संघ पोखराले विज्ञप्ति नै जारी गरी ब्याजदर फिर्ता लिन आग्रह गरेको हो । कोभिड १९ ले पर्यटन व्यवसाय थला परेको र भर्खर उठ्ने प्रयास गर्दैगर्दा ब्याजदरले फेरि थिचिने अवस्था आएको उनीहरूको गुनासो छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले बैंकको निर्णयले व्यवसायीहरूमा पीडा थपिएको बताए ।

बैंकका निर्णयले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने उनको भनाइ छ । ‘हामी त व्यवसाय बन्द गरेर हिँडे हुने भयो । कहिले महामारीले व्यवसाय चौपट पारेको छ । कहिले महामारी भन्दा ठूलो पीडा ब्याजदर थपिएको छ,’ उनले भने, ‘यसरी व्यवसाय विस्थापित हुन्छ । बेलैमा सोचियोस् ।’ संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले समेत कदम चाल्नुपर्ने माग राखेका छन् ।

ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधारण समेत महँगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ । ‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्ने छ,’ अध्यक्ष सुवेदीले विज्ञप्ति मार्फत भने, ‘अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *