बर्दिबास अस्पतालको सेवा विस्तार हुँदै 

जनकपुरधाम । स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन बर्दिबास अस्पतालमा सेवा विस्तार हुने भएको छ ।

१५ शय्याका लागि स्वीकृत यस अस्पताललाई ५० शय्यामा सञ्चालन गर्न जनशक्ति तथा उपकरण व्यवस्थापनको प्रक्रिया तीव्र बनाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रसूति रोग विशेषज्ञ कृष्णा महर्जनले बताइन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास स्वास्थ्य उपचार सेवाको केन्द्र बनिरहँदा करिब एक दशकअघि बनेको सुविधा सम्पन्न भौतिक पूर्वाधार भएको बर्दिबास अस्पतालमा भने आकस्मिक, बहिरङ्ग, ल्याब, एक्स-रे, प्रसूति, परिवार नियोजन, सुरक्षित गर्भपतन, खोप तथा पोषण, स्वास्थ्य बिमालगायतका सेवा उपलब्ध छन् ।

तर यीमध्ये कतिपय सेवा पूर्ण क्षमतामा सञ्चालित छैनन् । मेडिकल सुपरिटेन्डेन्ट डा.महर्जनका अनुसार बर्दिबास नगरपालिका मातहतको यस अस्पतालमा सबै खाले विशेषज्ञ सेवासहित उपचार कार्य आरम्भ गर्न गृहकार्य भइरहेको छ ।

अस्पतालमा अहिले तीन विशेषज्ञ, छ मेडिकल अधिकृत, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५६ जना कार्यरत छन् । अहिले विस्तार गर्ने भनिएको सेवा सञ्चालनका लागि थप ३३ जना जनशक्ति नगरपालिका कार्यालयसँग माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष जयनारायण शर्माले बताए । दशक पुरानो अस्पतालमा उपयोगविहीन हुँदा जीर्ण भएका उपकरण नगरपालिकामा नयाँ नेतृत्व आएपछि प्रयोगमा ल्याइएका छन् ।

अस्पतालमा अन्तरङ्ग विभाग र यस अन्तर्गत जेनरल मेडिसिन, सर्जरी, हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग र ज्येष्ठ नागरिक वार्ड,  शल्यक्रिया कक्ष, डेन्टल सेवा, सामाजिक सुरक्षा एकाइ, ज्येष्ठ नागरिकहरूका लागि ओपिडी, नवजात शिशु हेरचाह तथा उपचार कक्ष, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, चौबिसै घण्टा सञ्चालनमा रहने ल्याब, एक्स-रे, फार्मेसी, अल्ट्रासाउन्ड स्थापना गरिने योजना छ । अस्पताललाई केन्द्र मानेर नगरपालिकाले स्वास्थ्यसम्बन्धी बजेट व्यवस्थापन गरिदिनुपर्ने आफूहरूको माग रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माले जानकारी दिए ।

यसैगरी बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री, महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायतले बर्दिबास अस्पतालको निरीक्षण गरेका छन् । नगरप्रमुख क्षेत्रीले अस्पतालमा सेवालाई विस्तारित तथा प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले बर्दिबास अस्पतालको स्वास्थ्य सेवा क्षमता तथा गुणस्तर वृद्धि गरेर सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न नगरपालिका कार्यालय गम्भीर रहेको औँल्याए । उनले आवश्यकताका आधारमा अस्पतालमा जनशक्ति र उपकरण थप गरिने पनि प्रस्ट्याए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दाहालले अस्पतालको सेवा विस्तारका लागि आफूले संघ तथा प्रदेश सरकारको सहयोग जुटाउन पहल गर्ने बताए ।  एक दशकयता सीमित सेवा प्रदान गर्दै आएको बर्दिबास अस्पतालमा सेवा विस्तार गराउन पछिल्लोपटक स्टाफ नर्स चण्डिका अधिकारीले पहल गरिरहेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *