सहकारीले पैसा फिर्ता नदिँदा दशैं खल्लाे !

काठमाडाैँ । दशैं नजिकिँदै छ । शहरकेन्द्रित आममानिसहरू गाउँ फर्कन थालेका छन् । पैसा हुनेहरू बजार छिर्न थालिसकेका छन् भने कति मानिसहरू पैसा नभएकै कारण तनावमा छन् । उनीहरू न गाउँ फर्कनै पाएका छन्, न किनमेल गर्नै । यसकाे एउटा कारण बनेकाे छ— सहकारी । पैसा हुनेहरूले सहकारीमा लगानी गरे, अहिले सहकारीले आफ्नै पैसा माग्दा पनि दिएकाे छैन । यसपछि उनीहरूमा आक्राेश छ । आफ्नै पैसा उठाउन सहकारी कार्यालय पुग्नेहरू खाली हात फर्किँदैछन् । जसले उनीहरूलाई थप तनाव सिर्जना गरिदिएकाे छ । उनीहरूलाई दशैं मान्नै धाै-धाै परेकाे छ ।

दशैं हामी नेपालीको महान् चाड हाे । हामी अरु चाड नमनाए पनि दशैं भने सबैले मनाउँछाैँ । आफूले दशैं मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि मानिसहरू दशैं कसरी मनाउने भनेर सोच्दै दुखी भइरहेका छन् । सहकारीहरूले हिजो जनताको पैसा लिने बेला घर-घरमा पुगेर लियो । तर, फिर्ता गर्ने समयमा भने दाँतबाट पसिना नै निकाल्यो । पछिल्लो समय लाखौँ जनताहरू सहकारीमा आफूले राखेको पैसा निकाल्न नपाएर निराशा भएका छन् ।

सहकारीहरूले कर्जा त दिएन नै, तर डिपोजिटले राखेको पैसा पनि फिर्ता दिएन । सहकारीहरूले डिपोजिटको पैसा फिर्ता नदिँदा जनतालाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरूमा जनताहरू आफ्नो बचत निकाल्नका लागि बिहानदेखि नै लाइन लागेर बसिरहेका छन् । तर, सहकारीहरू भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भनेर भन्ने गर्छन् ।

मानिसहरूले हिजो बढी ब्याजको प्रभोलनमा सहकारीहरूमा ५ लाखदेखि करोडसम्म जम्मा गरे । तर, अहिले न ब्याज नै पाए, न साँवा नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिँदैनन् । त्यस्तै यता सहकारीमा काम गर्ने कर्मचारीहरू पनि डिपोजिटलाई सहकारीका जिम्मेवारी व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन्छन् । दशैं हामी सबै जनताले मनाउँछौँ । तर, दशैं मनाउन आफूले खाइ/नखाइ राखेको पैसा भने सहकारी दिँदैन ।

जनताको यसपालिको दशैं सहकारीहरूले पैसा नदिएका कारण खल्लो हुनेछ । यसरी सहकारीहरूले जनताको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित किन जनताको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही पनि गर्दैनन् र जनतालाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउँदैनन् । सरकारको लापरबाही वा सहकारी विभागका महानिर्देशक सहकारीहरूसँग लम्पसार पर्दा आज जनताको पैसा पनि डुब्ने भयो र जनताहरूले पनि दुःख पाइरहेका छन् ।

यस्तो हुँदै पनि सहकारी विभाग किन निरीह भएर बसिरहेको छ । सहकारीमा पैसा राख्ने मानिसहरूको रातको निन्द्रा र दिनको भोक पनि मेटिसकेको छ । उनीहरू रुँदै हिँडिरहेका छन् । उनीहरू दशैं त आयो । तर, कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दै रुन्छन् ।

अहिले उपत्यकाको चोक-चोकमा वा कंलकी, बल्खु, कोटेश्वर, गंगापुरमा मानिसहरू आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति मानिसहरू भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैं मनाउन जान लागेका छन् भने कति मानिसहरू सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैं मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् ।

वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दूधर्मावलम्वीहरूले मनाउने चाड भनेको नै दशैं हो । दशैंमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गर्छाैँ र रमाइलो गर्छाैँ । तर यसपालिको दशैं जनताले मनाउन नपाउने भएका छन् र यो सबै सहकारी कै कारण हुँदै छ । यसरी जनतामाथि सहकारीहरूले खेलबाड गर्दा सरकार किन यिनीहरूलाई कारबाही गर्दैन । किन मौन बस्छ, सरकार ?

साथै सहकारी विभागले पनि सहकारीहरूसँग आर्थिक लेनदेन गरेर वा सञ्चालक वा अध्यक्षहरूले राजनीतिक पार्टीको झोला बोकेर शक्ति केन्द्र धाएर जनताको बचत फिर्ता गरेका छैनन् र उनीहरूलाई दुःख दिने काम गरिरहेका छन् । पछिल्लो समय दिनहुँ १० ओटा सहकारीहरू जनताको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरू बजारमा सञ्चालनमा रहेका छन् ती सबैले जनताको बचत फिर्ता दिएका छैनन् र जनताको बिजोग भइरहेको छ ।

अहिले नै सहकारीहरूको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैंभरीको सहकारीहरू भाग्छन् जस्तो देखिन्छ । अबको एक  वर्षपछि झन् बढी जनताहरूको घरमा रुवाबासी हुनेछ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठूलो आर्थिक संकट आउने छ । पछिल्लो समय बजारमा बच्चादेखि बुढोले सहकारीमा पैसा राख्नु हुँदैन भनेर भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो, सहकारी भाग्यो, पैसा खाइदियो । तर सहकारीहरू कसरी डुब्यो र किन भाग्यो भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन ।

सहकारीहरूले पहिला ३ देखि ५ प्रतिशत सेवाशुल्क र २२ देखि ४२ प्रतिशत वा मिटरब्याजमा कर्जा प्रवाह गर्‍याे । साथै घरजग्गा, गाडी र सेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गर्‍याे ।सय रुपैयाँमा बैंकले निष्कासन गरेको सेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गर्‍याे, साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दियो । र २० रुपैयाँ किलोमा विकी नहुने फलाम वा सवारी-साधनलाई धितो राखेर लाखौँ कर्जा दियो ।

तर, यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरूले घुस खाएर कर्जा प्रवाह गरे । उदाहरणका लागि १ लाख रुपैयाँ धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरूले घुस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एकवर्षअघि मात्र ३ हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा विक्री हुदैँन जसले गर्दा अहिले सेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने मानिसहरूको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने विक्री गर्न चाहाने मानिसहरू हजारौँ भेटिन्छन् ।
त्यस्तै यता २ वर्षअघिमात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैन र एकवर्ष अघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा विक्री हुदैँन ।

सहकारीहरूले भने खाली यहीँ घरजग्गा, सेयर र गाडीमा लगानी गर्‍याे तर, यसरी यी चिजहरूको मूल्य घटेपछि सहकारीबाट ऋण खाने त चुर्लुम्मै डुबे भने सहकारी र बैंकहरू पनि आज डुब्ने अवस्थामा पुगे । त्यसकारण नै पछिल्लो समय वित्तीय संस्थाहरूमा डिपोजिटहरूको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरू भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि मानिसअनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् भने यता सहकारीहरू पनि मानिसअनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तीय संस्थामा डिपोजिटहरू पैसा निकाल्न गएमा त्यहाँ पानी, चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर जनता नै बताउँछन् ।

अहिले पनि कति सहकारीहरूले महँगाे ब्याजको प्रलोभनमा जनताको पैसा बजारबाट उठाइ नै रहेका छन् । कति सहकारीको कार्यसमितिमा बस्ने सञ्चालकहरू सहकारी डुबेर वा भागेर कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् भनेर सहकारी विभाग दिनहुँजस्तो धाइरहेका छन् । त्यस्तैगरी सहकारीमा सञ्चालकका रूपमा बस्ने मानिसहरू सहकारी डुबेमा आफ्नो सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो सम्पत्ति पनि आफ्नो आफन्तको नाममा पास गर्दैछन् भनेर पनि सुन्नमा आएको छ । अहिले सहकारीमा न अध्यक्ष नै भेटिन्छ, न सञ्चालक नै । सहकारीमा काम गर्ने कति कर्मचारीहरू एकवर्ष देखि तलब नपाएको र घरधनीहरूले पनि एकवर्षदेखि भाडा नपाएको भनेर गुनासो गर्छन् ।

सहकारीमा पैसा राख्ने मानिसहरू अहिले सहकारीमा गएर ब्याज चाहिँदैन, बरु साँवा मात्रै दिनुस् भनेर भनिरहेका छन् तर सहकारीहरू पैसा फिर्ता दिदैँनन् । पछिल्लो समय सहकारीहरूको यस्तो स्थिति वा अवस्था देखेर जनता र व्यापारीहरूले पनि सहकारीमा पैसा राख्न छोडिसकेका छन् । तर बजारबाट कति बजार प्रतिनिधिहरूले धेरै थोरै जनताको पैसा उठाइरहेका छन् । तर, उनीहरू त्यो रकम कार्यालयमा नलागी आफ्नो तलबको रूपमा काट्दै घरतिर लैजाने भन्ने कुरा पनि सुनिन्छ ।

पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाख देखि ३ लाखसमेत उठाउँथे भने अहिले दिनहुँ ३ देखि ५ हजारसमेत उठाउन सकिँदैन भनेर सहकारी कै कर्मचारी वा बजार प्रतिनिधिहरू बताउँछन् । सहकारीहरूले अहिले ५ हजारको पनि चेक साट्दैन भनेर बजारमा सुनिन्छ । सहकारीका कारण नै धेरै मानिसहरूको पैसा डुब्दै छ र धेरै मानिसहरू सुकुम्बासी हुँदै छन् ।

सहकारीमा आफ्नो पैसा निकाल्न मानिसहरू सहकारीमा दिनहुँ धाइरहेका छन् तर सहकारीले पैसा फिर्ता दिँदैन । कति सहकारीहरूले डिपोजिटको पैसा फिर्ता नगरेपछि त्यहाँ आन्दोलन नै शुरू भइसकेको छ । कति सहकारीमा पैसा निकाल्न लाैरो टेक्ने बुढाबूढीदेखि बच्चा भएका महिलाहरू पनि धाइरहेका छन् । अब झन् सहकारीहरूको अवस्था नाजुक हुने छ किनभन्दा अब जनताले सहकारीमाथि विश्वास गर्दैनन् ।

साथै अब सहकारीहरूसँग लगानी गर्ने पैसा पनि हुँदैन । पैसा भइन्जेल पहिला सहकारीका अध्यक्ष वा सञ्चालकले जनतालाई मिटरब्याजमा पैसा लगाएर वा दिनको १ लाखको १ हजार ब्याज लिएर र १ लाख ऋण दिएमा ७० हजार दिने र ३० हजार शुरूमै ब्याज काट्ने गरेर ठगे । यसरी यिनीहरूले जनतालाई ठग्नसमेत ठगेका छन् । तर जनताको नै पैसा जनतालाई नै सस्तो ब्याजमा कर्जा प्रवाह नगरी महँगाे ब्याज र सेवाशुल्कमा लगानी गरे । यिनीहरूले जनताले राखेको पैसाको भने थोरै ब्याज दिने तर त्यही पैसा कर्जामा लगानी गरेर घुस खाने र महँगाे ब्याज खाने गर्छन् ।

सहकारी वा बैंकबाट महँगाे ब्याजमा ऋण लिएका मानिसहरूले ऋण तिर्न नसकेर सहकारी र बैकले उनीहरूको धितो नै सबै खाइदिएका छन् । जसले गर्दा मानिसहरूले आत्महत्या पनि गरे र भाग्न पनि शुरू गरे । पहिला-पहिला गाउँघरमा रहेका शोषक वा सामान्तीहरूले १ लाख पैसा दिएमा १० लाखको तमसुक गराउँथे र गरिबीको घरजग्गा नै सबै खाइदिन्थे । अहिले सहकारी र बैंकहरूले पनि ठ्याकै त्यही काम गर्न सिके र गरे ।

बैंकले १ करोडको धितो छ भने ४० देखि ५० लाख रुपैयाँ दिने तर त्यसमा पनि धितो रोक्का गरेर वा १० प्रतिशत घुस खाएर । साथै १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्कमा लिने र ६ कित्ता नतिर्नेबित्तिकै कालोसूचीमा राखेर वा पत्रिकामा निकालेर त्यो १ करोडको धितो ५० देखि ६० लाखमा नै खाइदिने गर्छन् । पछिल्लो समय मिटरब्याज कै कारण आमनागरिकहरू माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

त्यस्तै सहकारीले १ करोडको धितो छ भने ७० देखि ८० लाख कर्जा प्रवाह गर्ने तर त्यसमा पनि १० लाख घुस, सेवाशुल्क ५ प्रतिशत र २० प्रतिशत ब्याज भनेपनि लिनेसमयमा ४२ प्रतिशत लिने गर्छन् । साथै ३ कित्ता नतिरेमा त्यो धितो नै सबै खाइदिने गर्छन् । बैंक र सहकारी भनेको जनता ठग्ने संस्था हुन् भनेर अहिले जनता नै बताउँछन् । त्यसकारण जनताहरू पछिल्लो समय यिनीहरूमाथि विश्वास गर्दैनन् । वित्तिय संस्था भनेको नै जनतालाई लुट्न र ठग्न खोलिएको संस्था हो भनेर जनताको मनमा छाप परिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =