चुनावी गठबन्धन नगर्न स्याङ्जा काँग्रेसको केन्द्रीय समितिसँग आग्रह

पोखरा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्नुपर्ने माग स्याङ्जा काँग्रेसले गरेको छ । निर्वाचन जित्नका लागि गठबन्धन आवश्यक नरहेको नेताहरूको सुझाव छ ।

काँग्रेसले जिल्लामा एक्लै प्रतिस्पर्धा गर्न सक्ने भन्दै गठबन्धन नगरिदिन केन्द्रीय नेतृत्व सँग आग्रह गरेका छन् । गठबन्धन दलहरूको जनमत निकै कम रहेको र उक्त मतले तात्त्विक असर नपर्ने भएकोले गठबन्धन जरुरी नरहेको प्रवक्ता भरतप्रसाद लम्सालले बताए । ‘१० प्रतिशत जनमत छ । त्यसको पनि ज्ञारेण्टी छैन । त्यसले नतिजामा खासै असर गर्ने पनि होइन,’ उनले भने, ‘जुन जिल्लामा प्रभाव पर्छ, त्यहाँ गठबन्धन गरे हुन्छ । स्याङ्जामा काँग्रेस एक्लै काफी छ ।’

स्थानीय निर्वाचनको नतिजाका आधारमा काँग्रेस स्याङ्जामा अघि देखिएको छ । यहाँ २ निर्वाचन क्षेत्र प्रतिनिधिसभा र ४ निर्वाचन क्षेत्र प्रदेशसभाका छन् । अरू पार्टीले सिटमा दाबी गरेका कारण काँग्रेस नेताहरूले गठबन्धनमा रुचि नराखेका एकथरीको भनाई छ । ‘सिट बाँडफाँटमा आफैलाई भाग नपुगेपछि यस्तो भनिएको हो । नत्र एक्लै चुनाव लड्दा हार्छ काँग्रेस,’ काँग्रेसकै एक नेताले भने, ‘केन्द्रबाटै एकमुष्ट निर्णय भएपछि जिल्लाले नमान्ने भन्ने होइन । स्याङ्जाका लागि मात्रै फरक निर्णय गर्ने विषय ठिक छैन ।’

गठबन्धनको तर्फबाट स्याङ्जा १ (क) मा माओवादीले दाबी गरेको छ । उक्त क्षेत्रमा काँग्रेस बलियो रहेकोले सिट दिन नसक्ने नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *