नेपालकै नमुना बन्दै तालचोक-बेगनास सडक, १ किलोमिटर निर्माणमा २३ करोड खर्च

पोखरा । पोखरामा नेपालकै नमुना सडक निर्माण हुन लागेको छ । तालचोक देखि बेगनासताल जोड्ने सडक सबैभन्दा महँगो र नमुना बनाउन लागिएको हो । वल्र्ड बैंकको आर्थिक सहयोगमा उक्त सडक निर्माण गर्न सम्झौता समेत भैसकेको छ । सडक निर्माणको ठेक्का स्वच्छन्द-सपना-वल्र्डवाइड जेभी, काठमाडौँले पाएको छ ।

वल्र्ड बैंकले लगानी गर्ने भनिएको १ अर्ब ४९ करोड १५ लाख मध्ये ठेकेदारले ७५ करोड ४८ लाखमा निर्माण सम्झौता गरेको हो । अब ७ सय ३० दिनमा सडक निर्माण सक्नुपर्ने छ । स्टिमेट अनुसार उक्त सडक बनाउन प्रति किलोमिटर ४५ करोड ४३ लाख लागत अनुमान गरिएको थियो ।

ठेक्का अनुसार सडक निर्माणका लागि प्रत्येक किलोमिटर स्तरोन्नति गर्न २३ करोड भन्दा बढी खर्च हुने छ । उक्त सडकलाई सबैभन्दा महँगो आयोजनाका रूपमा लिइएको छ । सडक निर्माणअघि वल्र्ड बैंकको टोलीले अवलोकन गरेर फर्किएको छ । बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेजर नेतृत्वको टोलीले सडक अनुगमन गरेको हो ।

३.२८ किमी लामो तालचोक बेगनास सडक हरियाली डिभाइडर सहित, फुटपाथ, साइकल ट्रयाक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् । सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =