गण्डकी विश्वविद्यालयले बनायो १० वर्षे योजना, कोदोको रक्सी ब्राण्डिङ गर्न अनुसन्धान

पोखरा । गण्डकी विश्वविद्यालयले आउँदो १० वर्षका लागि नयाँ रणनीतिक योजना बनाएको छ । पहिलो ५ वर्ष र दोस्रो ५ वर्ष गरी २ चरणको योजना बनाइएको हो ।

पहिलो चरणमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान र आविष्कारमा जोड दिने बताइएको छ । दोस्रो चरणमा विश्व बजारमा खपत हुने जनशक्ति उत्पादन गर्ने योजना छ । प्रदेश नीति तथा योजना आयोग गण्डकीका पूर्व उपाध्यक्ष डा. गिरिधारी पौडेलले उक्त योजना तयार गरेका हुन् ।

विश्वविद्यालयले विद्यार्थीलाई प्रमाणपत्रमात्रै दिने र त्यही वरिपरि पढाई चलिरहेको भन्दै अव प्रविधि विकास गर्ने गरी अध्ययन अध्यापनमा जोड दिनुपर्ने उनको भनाई छ । उनले विश्वका ४० विश्वविद्यालयका रणनीतिक योजना हेरेर आफूले गण्डकीको योजना तयार गरेको बताए ।

१० वर्षे रणनीतिक योजनामा विश्वविद्यालयको विकास मात्रै जोडिएको छैन । त्यसको आधार स्तम्भ पनि खोजिएको छ । गण्डकी प्रदेशका हरेक स्थानीय तहमा कम्तीमा एउटा विज्ञान पढाउने मावि तह हुनुपर्ने योजनामा उल्लेख छ । हाल प्रदेशका ७४ वटा स्कुलमा प्लस टु तहको विज्ञान पढाई हुन्छ ।

रणनीतिक योजना पूरा गर्न विश्वविद्यालयको बजेट १० वर्षमा ४ अर्ब लगानी गर्नुपर्ने उल्लेख छ । गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक कोदोको रक्सीको ब्राण्डिङ गर्न अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *