चोलेन्द्र पुग्नुअघि सर्वोच्च परिसरमा प्रहरी र वकिल

काठमाडौँ । सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्किने खबरपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।
तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।
उनी सर्वोच्च प्रवेश गर्न खोज्दा तनावकोस्थिति हुनसक्ने कुरालाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सर्वोच्च तथा बारको परिसर र सडकमा उच्च सुरक्षा अपनाइएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीको सुरक्षाकाबीच कानुन व्यवसायीहरू सर्वोच्च परिसरमा उपस्थित छन् । नेपाल बार एसोसिएसनले त जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने आधिकारिक निर्णय नै गरेको छ ।








