पोखराले रोक्यो फेवाताल किनारमा बन्दै गरेको घरको काम, ६५ मिटरभित्रका संरचना भत्काउने चेतावनी

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल किनारमा निर्माण हुँदै गरेको घरको काम रोकेको छ । शनिबार नगर प्रहरी सहित पुगेका मेयर धनराज आचार्यले ३ वटा घरको काम रोक्दै १ साताभित्र उक्त संरचना हटाउन निर्देशन दिएका छन् । उनले ६५ मिटरभित्र तत्काल कुनै संरचना बन्न नदिने चेतावनी दिएका छन् ।

निरीक्षण लगत्तै महानगरपालिकाले सूचना जारी गरी तालको मापदण्डभित्र अवैध संरचना बनेको खबर पाएकोले तत्कालै रोक्न र उक्त संरचना हटाउन निर्देशन दिएको छ । यदि नहटाए महानगर आफैले हटाउने सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसीले जानकारी दिए । सर्वोच्च अदालतले ६५ मिटरभित्र संरचना बनाउन नहुने र भएका संरचना समेत भत्काउन महानगरको नाममा आदेश दिएको थियो ।

यसअघि पनि महानगरको नेतृत्वले हटाउने प्रयास गरेका थिए । तर सफल भएनन् । ‘अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको देखियो । ती संरचनाका निर्माण कार्य तत्काल रोक्न र निर्माण सामग्री हटाउन भनेका छौँ,’ आचार्यले भने, ‘महानगरको निर्देशन अटेर गरे महानगरले नै संरचना हटाउँछ । उक्त खर्च सम्बन्धित धनीबाट असुल गर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =