दलहरूलाई समानुपातिक सूची तयार पार्ने चटारो, शीर्ष तीन पार्टीले बोलाए बैठक 

काठमाडौँ । शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले बैठक बोलाएका छन् । निर्वाचन प्रक्रियाअनुसार भोलिसम्ममा  समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएपछि बैठक बोलाइएको हो ।

एमालेले बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो ।

शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

यो पनि : आज र भोलि समानुपातिकको बन्दसूची बुझाउने दिन

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पनि समानुपातिक उम्मेदवार टुङ्ग्याउन संसदीय समिति बैठक बोलाएको हो । केही बेरमा शुरुहुने बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरूबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।

कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो ।

यस्तै समानुपातिक तर्फको उम्मेदवार टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक अहिले केही बेरपछि बस्ने भएको हो ।

स्थानीय पार्टी कमिटी हुँदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुङ्गाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *