यसरी मनाइन्छ जितिया पर्व

ललितपुर । जितिया, जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो मधेसको महत्वपूर्ण लोक पर्व हो । यो पर्वमा विशेषगरी सन्तानको दीर्घायु, सुखशान्तिका साथै वंश वृद्घिको कामना गर्दै यहाँका महिला व्रत बस्ने गर्छन् । यो व्रत तीन दिनसम्म चल्छ । असोज सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक व्रत गरिन्छ ।

मैथिल महिला समाज नेपालका अध्यक्ष अञ्जला झाले जितया व्रतकाबारे जानकारी दिँदै भने, ‘यो पर्वमा महिला सामूहिकरुपमा जिमुतवाहन कथा सुन्ने गरिन्छ, तबमात्र व्रत पूर्ण हुन्छ भन्ने लोक मान्यता छ ।’ पछिल्लो समय देशभर यो पर्व मनाउने गरिएको छ । अहिले काठमाडौँमा पनि विभिन्न सङ्घसंस्थाले जितियाको संस्कृति झल्काउने कार्यक्रम गर्न थालेका छन् ।

विशेष गरेर तराईका महिला काठमाडौँको पशुपति क्षेत्रका मन्दिर र आफूलाई पायकपर्ने मन्दिरमा गई पूजा गर्छन् । खोलानालामा गई धुमधामसँग जितिया पर्व मनाउँछन् । तर सहरका खोला फोहर भएकाले घरमै बर्तालु नुहाउने गर्छन् । तराईका खोलामा आजकल पहिला जस्तो पानी हुँदैन । चुरिया पहाडका वन क्षेत्र कटानी हुन थालेपछि खोलानाला, इनार, पोखरी सुक्न थालेका छन् । तराईमा थारुको बाहुल्यता भएको ठाउँमा जितिया पर्वको मेला लाग्ने गर्छ ।

अध्यक्ष झाले पूजाको विधिबारे जानकारी गराउँदै भने, ‘सप्तमी अर्थात् पहिलो दिनलाई ‘निहाएखाय’को दिन भनिन्छ । यस दिन बिहानै बर्तालु नङ काटी खोला, पोखरी वा घरमै गङ्गाजल पानीमा राखी तोरीको तेल र खरी पिनाले नुहाउँछन् । त्यो दिन पितृ स्मरण गरी पूजा गरिन्छ ।’

विषेश गरेर यो दिन नौनीको साग, कोदोको पिठोको रोटी, कन्दा र झिमनीको तरकारी खान्छन् । कति ठाउँमा माछा पनि खाई पूजाको सुरुआत गरिन्छ । खानाका लागि तिथिअनुसारको समय तोकिएको हुन्छ । त्यहीअनुसार सप्तमीको एक छाक मात्र नुनिलो खाना खानुपर्छ ।

अध्यक्ष झाका अनुसार जितियाको दोस्रो दिनलाई खुरजितिया भनिन्छ । यस वर्षमा सरगही–ओठगन गर्ने समय पनि छ । बिहानै सबेरै नुहाएर घिरौँलाको पातमा दही, चिउरा मिठाइले चिल, स्याल र जिमुतवाहनको पूजा गरिन्छ । त्यही समयमा व्रतको सङ्कल्प लिइ बर्तालुले प्रसादी खाने गर्छन् । त्यस समयमा परिवारका सदस्यले पनि चढाएको प्रसादी खाने चलन छ । विशेषगरी बर्तालु घरका बालबालिकालाई प्रसादी दिएर खुसी तुल्याइन्छ ।

यो जितिया व्रत छठ जस्तै, कठिन व्रत हो । अष्टमी तिथिको जितिया व्रतको सङ्कल्प लिइसकेपछि निरहार, निर्जला व्रत नवमी अर्थात् पारनसम्म बस्नुपर्छ । यो व्रत औँसीमा गरिन्छ । यो वर्ष नयाँ बर्तालुलाई शुभ मुहरत ९समय० छ । अष्टमीको दिन जितिया जिवित्पुत्रिका को माटो वा गाईको गोबरको मूर्ति बनाएर पूजा गरिन्छ ।

त्यसैगरी चिल र स्यालको पनि प्रतिमा बनाएर पूजा गरिन्छ । पूजा सामग्रीमा विशेषगरी रक्षा धागो, रातो सिन्दुरको टीका, पान, ल्वाङ, नभाँचिएको चामलको अक्षता, भिजेको चना, काँक्रो, पान र घिरौँलोकोे पात, शृङ्गारको सामान आदिले विधिपूर्वक बर्तालुले कथा, गीत गाएर पूजा गर्छन् । यो व्रत नेपालको विभिन्न भौगोलिक क्षेत्रका साथै काठमाडौँ उपत्यकालगायत विशेषतः तराई क्षेत्रमा बसोबास गर्ने महिलाले पूर्वतयारी गरी धुमधामसँग मनाउने गर्छन् ।

यो वर्ष २०७९ असोज ३१ गते आज नहाए खाएको दिन, २ गते जिमुतवाहनको निरहार रही व्रत गर्छन् र ३ गते बिहान पारन गर्ने समय साइत पञ्चाङगबाट देखिन्छ । सूर्यलाई अर्घ दिइ पारन गरिन्छ ।

जितिया व्रतको महत्व

नेपाल महिला समाज समूहकी अध्यक्ष अनामिका झा जितियामा छोराछोरीको केही भेदभाव नगरी पूजा गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भन्ने विश्वास प्राचीनकालदेखि नै मान्यता छ । यो सन्तानको आयु लामो होस् सुख शान्तिको कामना गर्दै आमाले जितिया भगवान्को निर्जला व्रत बसी प्रार्थना गर्छन् । व्रतको सुरुआती सप्तमी तिथिदेखि नहाए खाए विधि सुरु हुन थाल्छ । व्रत लिनुभन्दा अगाडि यसको सङ्कल्प लिइ व्रत बस्नुपर्छ ।

सप्तमीको दिन एक छाक खाना खाई अष्टमीमा निर्जल बसी नवमी तिथिको दिन सूर्यलाई अर्घ दिइ पारन गर्नुपर्छ । यो छठ व्रत जस्तै कठिन व्रत हो । अध्यक्ष झाले जितिया लोकपर्व कसरी सुरु भयो उभनी कथाद्वारा जानकारी गराउनुभयो । पौराणिक ग्रन्थमा यो व्रतको महत्व महाभारतकालदेखि जुडेको छ । लेखक तथा साहित्यकार डा रामदयाल राकेश जिमुतवाहनको नामबाट जितिया पर्व सुरु भएको बताउँछन् ।

उनले भने, ‘यो व्रतको सङ्कल्प लिनुभन्दा पहिला बर्तालुले स्वास्थ्यको ख्याल गर्दै घर परिवारसँग सल्लाह लिइ व्रत बस्नुपर्छ । यो अरुभन्दा कठिन भएकाले धेरैजसो बर्तालु माइतीमा गई व्रत गर्छन् । यो व्रत गर्नेबेला मन, वचन र काममा शुद्घता जरुरी छ । मनलाई संयमित राख्नुपर्छ । यस व्रतमा कपाल कोर्ने, तोड्ने, काट्ने काम गर्नुहुँदैन । सकभर घाममा काम गर्नुहुँदैन, शरीरमा पानीको कमीले डर रहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.