मान्छेलाई लात हान्दै हिँड्ने र ढुंगालाई पूजा गर्ने संस्कार हटोस् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने काम विज्ञानसम्मत नभएको बताए।
‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ,’ प्रचण्डले भने, ‘आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ। मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन्’
‘हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि। मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है,’ प्रचण्डले भने, ‘चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरिकन भनेको हो।’
उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए।








