साढे ३ महिनादेखि पोखरा विश्व विद्यालयमा तालाबन्दी, विद्यार्थीले थाले अनसन

पोखरा । पोखरा विश्वविद्यालयमा विद्यार्थीले रिले अनसन थालेका छन् । विश्वविद्यालयले अनावश्यक रूपमा सम्बन्धन दिएको विरोधमा विगतदेखि नै आन्दोलन गर्दै आएको नेविसंघ पोखरा विश्वविद्यालय मूल इकाई समितिले माग पूरा गर्न रिले अनसन थालेको हो ।

लेखनाथ स्थित ढुंगेपाटनमा रहेको विश्वविद्यालयको मुलद्वार अगाडि विद्यार्थी अनसन बसेका छन् । विद्यार्थी नेता राजीव भण्डारीका अनुसार विश्वविद्यालयले अनावश्यक रूपमा सम्बन्धन दिएर केही व्यक्तिले आर्थिक लाभ लिने गरेका छन् । इकाई सभापति फिरोज सुवेदीले आफूहरूको माग सम्बोधन नगरी उल्टै झुठा मुद्दा लगाउने काम विश्वविद्यालयले गरेको आरोप लगाए । विश्वविद्यालयले हालसम्म ५८ कलेजलाई सम्बन्धन दिएको उनले जानकारी दिए ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. प्रेमनारायण अर्याललाई यसबारेमा सचेत गरेपनि आफूहरूलाई झुठा मुद्दा लगाउने, विद्यार्थी विद्यार्थी जुधाउने, राजनीतिक बदला र यातना दिएर आन्दोलन दबाउने खेलमा विश्वविद्यालय लागि परेको उनको गुनासो छ ।

यसैबीच, नेविसंघ पोखरा विश्वविद्यालयका नेता युनिक लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई नै धराशायी बनाउन थालिएको यस्ता क्रियाकलापविरुद्ध नेपाल विद्यार्थी मूल इकाई समिति रिले अनसनजस्तो कठोर आन्दोलनका कार्यक्रम गर्न लागेको छ ।’ विश्वविद्यालय रक्षार्थ र भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *