जेठाजुले गरे बुहारीको हत्या 

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहामा प्रहरीले भाइ-बुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई पक्राउ गरेको छ ।

आफ्नै भाइ-बुहारी बबितियादेवीको हत्या आरोपमा ३० वर्षीय जेठाजु वीरेन्द्र दासलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनलाई हत्यामा सघाउने वीरेन्द्रका काका १९ वर्षीय उमेश दास र सालो १९ वर्षीय शत्रुद्यन दासलाई पनि पक्राउ गरिएको  छ ।

प्रहरीका अनुसार वीरेन्द्र र बबितियादेवीबीच अनैतिक सम्बन्ध थियो । यो सम्बन्ध बिस्तारै गाउँ समाजका व्यक्तिले थाहा पाउने र बबितियाको व्यवहार पनि परिवर्तन हुँदै गएकाले वीरेन्द्रले उनको हत्याको योजना बनाएको देखिएको प्रवक्ता क्षेत्रीले बताए । २७ भदौमा आफ्नै घरमा सुतिरहेकी बबितियादेवीलाई शत्रुद्यनले खुट्टा, उमेशले हात समातिरहँदा वीरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिएको क्षेत्रीको भनाई छ ।

बबितियाको हत्या पश्चात् शवलाई खाटमुनी लुकाई कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आई शवलाई बाँसघारीमा फालेका थिए । शव फालेपछि अरू कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घटनास्थलमा राखेको देखिएको प्रहरीको भनाई छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *