गण्डकीमा कांग्रेसलाई १० सिट, यस्तो छ सिट बाँडफाँट

पोखरा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटको क्रम जारी छ । हालसम्म सर्वसम्मत रूपमा भएको बाँडफाँट अन्तर्गत गण्डकी प्रदेशमा नेपाली काँग्रेसले सबैभन्दा धेरै १० सिट पाएको छ ।

माओवादीलाई ३ तथा जनमोर्चा र एकीकृत समाजवादीको १/१ सिट भागमा परेको छ । ३ सिटमा अझै सहमति जुटेको छैन । गोरखा १, नवलपुर २ र कास्की ३ मा एकभन्दा बढी पार्टीको दाबी छ । गोरखा १ मा माओवादी र काँग्रेसको दाबी छ भने नवलपुर २ मा माओवादी, काँग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन् । यस्तै, कास्की ३ मा पनि माओवादी र काँग्रेसको दाबी छ ।

मनाङ, मुस्ताङ, पर्वत र म्याग्दी सहित कास्की १, तनहुँ र स्याङ्जाका दुईवटै, नवलपुर १ काँग्रेसले पाएको छ । माओवादीले बागलुङ २, गोरखा २ र लमजुङ पाएको छ । एकीकृत समाजवादीलाई कास्की २ र जनमोर्चालाई बागलुङ १ भाग लगाइएको छ । बाँकी सिटमा केही दिनभित्रै टुङ्गो लगाइने सत्तारुढ दलहरूले बताएका छन् ।

सिट बाँडफाँटसँगै उक्त क्षेत्रमा को चुनाव लड्ने भन्ने चर्चा सुरु भएको छ । दलहरूले सबै क्षेत्रबाट आफ्ना आकाङ्क्षी उम्मेदवारको नाम सङ्कलन गरेको छ । तर गठबन्धनका कारण सम्बन्धित सिट छोड्नुपर्ने भएकोले अन्य क्षेत्रमा समेत उम्मेदवार पठाउन सक्ने बुझिएको छ । यद्यपि हालसम्म सिफारिस भएका नाम हेर्दा मनाङमा काँग्रेसले टेकबहादुर गुरुङ, मुस्ताङमा रोमी गौचन, पर्वतमा अर्जुन जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर) लाई उम्मेदवार उठाउन सक्ने बुझिएको छ ।

तनहुँ १ बाट रामचन्द्र पौडेल, २ बाट प्रदीप पौडेल वा शङ्कर भण्डारी, नवलुर १ बाट डा. शशाङ्क कोइराला, स्याङ्जा १ बाट राजु थापा वा धनराज गुरुङ, स्याङ्जा २ बाट भागवतप्रकाश मल्ल वा गोपालमान श्रेष्ठ तथा कास्की १ मा यज्ञबहादुर थापा वा कृष्णबहादुर केसी मध्ये एकलाई टिकट दिन सक्छ । माओवादीले पाएको गोरखा २ मा बाबुराम भट्टराई चुनाव लड्न सक्छन् भने बागलुङ २ मा देवेन्द्र पौडेल र लमजुङमा देवप्रसाद गुरुङ चुनाव लड्ने बुझिएको छ ।

एकीकृत समाजवादीले कास्की २ बाट तुलबहादुर गुरुङ र मदन आचार्यमध्ये एकलाई अघि सार्न सक्छ । तर नेताहरूका अनुसार अन्य क्षेत्रबाट पनि यहाँ उम्मेदवार आउन सक्ने सम्भावना छ । जनमोर्चाले बागलुङ १ बाट चित्रबहादुर केसीलाई उठाउने सङ्केत छ । यद्यपि उम्मेदवारहरू फरक पर्न पनि सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *