जबरालाई कुनै अमुक पार्टीले बोक्नु हुँदैन : रमन श्रेष्ठ

काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने बताएका छन् । गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताउँदै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले जबरालाई कुनै पार्टीले बोक्न नहुने बताएका हुन् ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधीवक्ता श्रेष्ठले भने‚ ‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा ईतिहास हो, गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन । यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ । ’
३५ बुँदे अभियोगमा दुई/चार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाए । ‘कतिपय मुद्दामा कागज भएको छ, कतिपयमा चेक लिएको छ । त्यसविरुद्ध हामी बोल्यौं । हामी करप्सनमा संलग्न भएको भए कसरी प्रधानन्यायाधीशविरूद्ध बोल्न सक्थ्यौं ?’ उनले भने ।
वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको भन्दै उनले कसले कति भ्रष्टाचार गरेको भन्नेबारे न्यायाधीशको अनुहार हेरेर थाहा हुने बताए । अदालत रहेमात्रै बार रहने भन्दै उनले भने‚ ‘रञ्जन कोइरालाको मुद्दामाथि गरिएको एउटै फैसला महाभियोग लगाउन पर्याप्त छ । न्यायाधीशले विश्वास नगर्नु महाभियोगको अर्को आधार हो ।’








