भारतीय मगन्तेका कारण कुरूप बन्दै पोखरा, पर्यटनमा नकारात्मक असर

पोखरा । गण्डकी प्रदेश सडक आश्रित सहयोगापेक्षीहरू नभएको प्रदेश हो । सरकारले १० महिनाअघि गरेको घोषणा अनुसार यतिबेला प्रदेशका कुनै पनि सडकमा माग्न बस्नेहरू नहुनुपर्ने हो । तर पोखराका चोकचोकमा भारतीय मगन्तेले भरिएका छन् ।

साना बालबालिका काखीमा च्यापेर कचौरा थाप्दै यात्रुहरूसँग पैसा माग्नेहरू पोखराका प्रायः सबै चोकमा छन् । उनीहरूले माग्ने मात्रै होइन, यात्रुलाई निकै सास्ती पनि दिन्छन् ।

‘पोखरा छिर्ने बित्तिकै माग्नेहरूको भीड लाग्छ । पर्यटक हैरान भएका छन्,’ पर्यटन व्यवसायी अग्नि कँडेलले भने, ‘सरकारले बेलैमा यसबारे सोचोस् । उनीहरूको समस्या समाधानमा पहल गरोस् ।’ पृथ्वी चोक, महेन्द्र पुल, चिप्लेढुंगा, लेक साइड लगायत क्षेत्रमा मगन्तेहरूको भीड लाग्छ । पर्यटन व्यवसायीहरू यस्ता दृश्यले नेपालको सन्देश गलत हिसाबले प्रचार भइरहेको बताउँछन् ।

‘कतिपय कुराहरू भनिरहेका छौँ । प्रहरीलाई जानकारी गराएका छौँ । पोखराकै बदनाम भइसक्यो,’ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपी भट्टराईले भने, ‘कोभिडले बिग्रिएको पर्यटन अहिले मगन्तेले समस्या भयो । हामीलाई त यही कारणले पर्यटक घट्ने डर छ ।’

सरकारले नेपाली सहयोगापेक्षीहरूलाई मानव सेवा आश्रममा लगेर व्यवस्थापन गरेको छ । तर भारतबाट आएका सहयोगापेक्षीहर समूहमा बस्ने र समूह मै माग्न निस्किने गरेका छन् ।

कतिपयले अपांगता भएका बालबालिकालाई प्रयोग गरेर पनि मागिरहेका छन् । ‘सडकपेटीमा अपांगता भएका, हिँडडुल गर्न नसक्नेलाई सुताउँछन्, बाटोमा हिँड्नेलाई पैसा दिन कर लाग्छ,’ एक यात्रु भन्छन्, ‘कतिपय त झुन्डिँदै आउँछन् । साह्रै लाजमर्दो बनाउँछन् ।’

तर गण्डकी सरकार भने मगन्तेका विषय प्रदेश सरकारको सरोकारको विषय नभएको बताउँछ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता ताेयानाथ लम्सालले भारतीय मगन्ते सरकारको सरोकारमा नपर्ने बताए ।

‘कोही प्रदेशवासी हुन भने हामी व्यवस्थापन गर्छौं । तर अरू मुलुकबाट आएकालाई कुन खर्चले व्यवस्थापन गर्ने ?,’ उनले भने, ‘त्यो हाम्रो विषय होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =