मनिषाकाे कालिकाेटदेखि ‘एग्लाेन’सम्मकाे यात्रा !

काठमाडाैँ । मनिषा सिंह; कालिकोटको गरिब परिवारमा जन्मिइन् । त्यहीमाथि उनलाई बुवाले छाडे । उनका दुई बहिनीहरू छन् । मनिषासँगै दुई बहिनी र उनकी आमालाई छाडेर बुवा बेपत्ता भएपछि मनिषाकाे आगामी बाटाे कालाे बादलले छाेप्याे । छाेरा जन्माउन नसकेपछि मनिषाकी आमालाई बुवाले छाडेका हुन् । आमालाई छाडेपछि मनिषाहरू पनि बुवाविहीन भए ।
मनिषाकाे विद्यालय जाने बेला भएकाे थियाे, औपचारिक शिक्षा ग्रहणकाे समय भएकाे थियाे । तर, उनले पढ्न पाइनन् अरुलेझैँ । उनका समकालीन साथीहरू किताब बाेकेर विद्यालयतिर साेझिँदै गर्दा मनिषा काेदालाे बाेकेर बारीतिर हान्निँदै हुन्थिन् ।
आमा दु:ख गर्थिन्, हम्मे-हम्मे गर्दै भएपनि जीवन धान्थिन् । मनिषालाई हेरेर बस्न मन हुँदैनथ्याे । आमासँगै काम गर्न जान्थिन् । विद्यालयमा भेटिनुपर्ने उमेरमा मनिषा खेतबारीमा भेटिन्थिन् । उनकाे रहर पटक्कै थिएन । उनी भन्छिन्, ‘बाध्यताले काम गरायाे, विद्यालय पठाए ।’
समय एकनासे कहिल्यै हुँदैनन् । प्रकारान्तरले मनिषालाई पनि बालगृह पुर्यायाे । तत्कालका लागि परिवारलाई त्यसले विछाेड गराए पनि दीर्घकालका लागि त्याे राम्राे थियाे । आफ्नै छाेरीहरूलाई पाल्न गाह्राे भइरहेकी मनिषाकी आमालाई पनि राहत मिल्याे र मनिषाले पनि पढ्न पाउने भइन् । हुन त अनाथलयकाे अवस्था पनि खासरूपमा बलियाे थिएन । तैपनि ‘नहुनु मामाभन्दा कानाे मामा जाति’ भनेझैँ मनिषालाई बेसै भयाे ।
बालबालिकालाई उचित खानेकुरा, सफा लुगा, स्वास्थ्य सेवा वा अन्य कुनै पनि आवश्यक सामग्री चाहिएकाे परिमाणमा उपलब्ध हुँदैनथ्याे बालगृहमा । तैपनि धीरता राखेर मनिषा बसिन् । केहीरूपमा पढे पनि मनिषाले चाहेजत्ति र ग्रहण गर्नुपर्ने जत्ति शिक्षाकाे दायरा पाइसकेकी थिइनन् । समग्रतामा मनिषाकाे जीवनले तात्त्विक फरक पाइरहेकाे थिएन, त्याे आफ्नै घरमा हाेस् वा बालगृहमा ।
साेही समयमा ढुङ्गा खाेजिरहेकी मनिषालाई देउवा मिल्याे । दुई बेलायती नागरिक म्याथ्यू विलियम हर्ली र उनकी पत्नी लुइसा जेनेकम् भेटिए । सन् २०१५ को महाभूकम्पपछि उनीहरूले विभिन्न परोपकारी संस्थाहरूमार्फत् सहायता र सहयोग प्रदान गर्दै आएका थिए । त्याेबखत उनीहरू आफ्ना दुई छोरा लिएर नेपाल आएका थिए । भूकम्पले धेरै नेपालीको परिवार तहस-नहस बनाएको थियाे । अनाथलय तथा बालगृहमा रहेका बालबालिकाहरू विस्थापितझैँ बनेका थिए । यी सबै-सबै देखेर उनीहरूले डस्टी याक फाउन्डेसन बनाए, जहाँ मनिषा र उनकी बहिनीहरूसमेत अटाए ।

हर्ली परिवारले खाेलेका फाउन्डेसन बूढानीलकण्डमा छ । जसले स्वयम् सेवकका रूपमा सेवा गर्दै आइरहेकाे छ । जुन सेवा केन्द्रको राम्रोसँग सु-सज्जित र मर्मत गरिएको छ । त्यहाँ रहेका केटाकेटीहरूलाई अङ्ग्रेजी माध्यमबाट पढाइ/सिकाइ हुने विद्यालयमा भर्ना गरिएकाे छ । बास, खाना, शिक्षा, माया र हेरचाहको व्यवस्था पनि कमचाहिँ छैन । फाउन्डेसन बन्याे, ठूलाे काम गर्याे । मनिषाले अभिभावक पाइन्, अझै ठूलाे कुरा— मनिषाजस्तै अरु धेरैले आमा-बुवा पाए ।
मनिषा ‘आउटस्टान्डीङ्ग’ थिइ । उनी पढाइका अतिरिक्त खेलसँगै गायन तथा नृत्यमा समेत अब्बल निस्किइन् । फाउन्डेसनमा, उनले बाँकी बालबालिहरूकाे ठूली दिदीकाे भूमिका निभाइन् । बहिनीहरूलाई सिकाउँथिन्, माया गर्थिन् । हुन त त्याे पनि हाे कि— उनलाई दु:खहरूकाे आहालबाट आएकी थिइन् । त्याे भएर पनि उनले बहिनीहरूकाे ख्याल गर्थिन् । बाल्यकालदेखि नै आफूले भोगेको कठिनाइ र संघर्षलाई ध्यानमा राख्दै मनिषाले आफू र आफ्ना दिदीबहिनीहरूले जीवनमा भोग्नुपरेको सामाजिक अन्याय र असमानताको विरुद्ध लड्नका लागि वकिल बन्न निरन्तर इच्छा व्यक्त गरिन् । उनी अन्य बालबालिका र महिलालाई सहयोग गर्ने चाहना राख्छिन् । मनिषा असाधारण थिइन् समग्रतामा । हर्ली परिवारकाे नजरमा परिन् मनिषा, उनीहरूले मनिषाकाे मुक्तकण्ठले प्रशंसा गर्थे । यसपछि उनलाई स्विट्जरल्याण्डको एग्लोन स्कूलमा छात्रवृत्तिको लागि आवेदन दिन प्रोत्साहित गरे, जुन विश्वको सबैभन्दा प्रतिष्ठित विद्यालयहरूमध्ये एक हो ।
एग्लोन [Aiglon] स्कूलको यात्रा सजिलो थिएन । जहाँ निकै कठिन चयन प्रक्रिया छ । आवेदन प्रक्रिया पूरा हुन महिनाैँ लाग्यो । छनोटको पहिलोचरण मूल्याङ्कन र अन्तर्वार्ता थियो, जसको लागि उनले आफ्ना शिक्षकहरू, हर्लेज र युकेका ट्युटरहरूसँग दिनरात निरन्तर तयारी गरिन्, जसले मनिषालाई आफ्नाे सपनाहरू पूरा गर्न ठूलाे मद्दत गर्याे । जे हाेस् मनिषाले नेपाली सन्तानहरूले के गर्न सक्छन् भनेर देखाउँदै नेपाल राष्ट्रको झण्डा बोक्न पाएकी छिन् ।








