बेनी पुगेर लिङ्देनले भने- ‘राप्रपालाई पहिलो शक्ति बनाऔँ’

म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनको नाममा लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप लगाएका छन् । मंगलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको पनि बताए ।

नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको मिलीजुली खानका लागि बाहेक मुलुकका हितका लागि केही उपलब्धि नहुने उनको भनाई छ । ‘मुलुक विदेशीहरूको चङ्गुलमा फसाउने र लम्पसार पर्ने बाहेक केही हुन सकेको छैन ।’ उनले अगाडि भने‘जति शासन गरेपनि एक हजार जना युवायुवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन्, दैनिक हजारौँको सङ्ख्यामा युवायुवती बिदेसिन बाध्य छन् ।’

अध्यक्ष लिङदेनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर विजयी बनाउन समेत उनले आग्रह गरे ।

राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको उनको भनाई छ । लिङदेनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेकोसमेत उनको आरोप छ । काँग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढी शासन गरेपनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको अध्यक्ष लिङ्देनकाे जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *