एमसीसीबारे चीनले राख्याे चासाे, प्रचण्डले भने- ‘अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्दैन’

काठमाडाैँ । चीनले २०७८ फागुन १५ गते नेपालकाे संसद्बाट पारित भएकाे अमेरिकी सहायता परियाेजना (एमसीसी) बारे चासाे राखेकाे छ । नेपालकाे तीनदिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले एमसीसीबारे चासाे राखेका हुन् । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टी पदाधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा लीले एमसीसीबारे चासाे राखेकाे भेटमा सहभागी एक नेताले बताए ।
ती नेताकाअनुसार प्रचण्डले नेपाल सधैँ एक चीन नीतिमा कटिबद्ध रहेकाे सुनाए । उनले मकालुखबरसँग भनेका छन्, ‘तिब्बती परिचयपत्र र एमसीसीको विषयमा उहाँको चासो थियाे । यसबारेमा अध्यक्ष कमरेड प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनैपनि गतिविधि हुन नदिने विश्वस्त पार्नुभयाे । सँगै उहाँले नेपाल एक चीन नीतिमा सधैँ कटिबद्ध भएकाे सुनाउनुभयाे ।’
एमसीसीबारेकाे लीकाे चासाेमा प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणा स्मरण गराए । उनलाई उद्धृत गर्दै ती नेतलाे भनेका छन्, ‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर संसद्बाट नेपालको हितमा हुनेगरी एमसीसी पास गरेका हाैँ । यसले राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धमा असर गर्दैन भन्ने हाम्राे भनाइ छ ।’
यस्तै लीले बीआरआईलगायतका परियोजनामार्फत् भइरहेका आयोजनाहरूकाे शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए । यसका अलवा दुई नेताहरूबीच ‘पार्टी टू पार्टी’ सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।








