काठमाडौँ ३ मा बढ्यो चुनावी सरगर्मी, जनतामाझ पुग्दै चालिसे

काठमाडौँ । मङ्सिर ४ गतेका लागि आमनिर्वाचनको मिति तोकिएसँगै देशैभर चुनावी माहौल तातिँदैछ । दल र आकांक्षीहरु प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्न थालेका हुन् । दलहरू अहिले धमाधम स्थानीय तहबाट उम्मेदवार सिफारिस गर्न लागिरहेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाका लागी उम्मेदवार सिफारिस गरिसकेको छ । सिफारिसमा परेका मध्य एक हुन्, सन्तोष चालिसे । चालिसे काठमाडौँ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिका साथै गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुन् । उम्मेदवारका लागि सिफारिस भएका चालिसे अहिले चुनावी रणनीति निर्माण र परिचालनका लागि ठोस योजना निर्माण गर्दै चुनावी तयारीमा सक्रिय बनेका छन् ।

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा लोकप्रिय रहेका चालिसे शीघ्र निर्णय क्षमता र जनचासोको विषयमा तत्काल प्रतिक्रिया जनाउने जनप्रतिनिधिको रूपमा परिचित छन् । उनी आफ्नो क्षेत्रमा संगठन निर्माणमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । चालिसेले गोकर्णेश्वर नगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा राष्ट्रिय गौरवको आयोजनादेखि भौतिक पूर्वाधार र सामाजिक विकासलाई समानान्तर प्राथमिकतामा राखेका थिए । विगतका केही वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको जोरपाटी सुन्दरीजल सडक खण्ड पनि उनकै कार्यकालमा बनेको हो ।

२०५४ सालमा साबिक जोरपाटी गाविसको जनप्रतिनिधिसमेत रहेका चालिसे, स्थानीय जनप्रतिनिधिको रूपमा प्राप्त गरेका अनुभव र सिकाइलाई जस्ताको तस्तै संसद्‌मा उठाउनको लागि आफूले प्रतिनिधि सभामा दाबी गरेको बताउँछन् । गएको स्थानीय निर्वाचनको वडागत मत हेर्ने हो भने यो क्षेत्र कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ र गोकर्णेश्वर नगरपालिकाको सम्पूर्ण क्षेत्र पर्ने काठमाडौँ ३ मा चालिसे सहित कांग्रेसबाट पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य अम्बिका बस्नेत, बिपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेल र युवा नेता हरिबोल भण्डारीको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *