टिकटमा दबाब दिन पोखरामा भेला भए कांग्रेसका युवा नेताहरू

पोखरा । नेपाली कांग्रेसका युवा नेताहरू पोखरा भेला भएर टिकटका लागि नेतृत्वलाई दबाब सिर्जना गरेका छन् । देश सञ्चालनमा युवालाई पठाउनुपर्ने र आगामी निर्वाचनमा उनीहरूले नै टिकट पाउनुपर्ने माग सहित युवा नेताहरूले पोखराबाट काठमाडौँलाई दबाब दिएका हुन् ।

गण्डकी प्रदेशबाट संघ र प्रदेश सांसदमा दाबी गरेका युवाहरूको भेला भएको हो । ‘यूथ टेबल’ नाम दिइएको उक्त भेलाले आकांक्षी युवाहरूलाई टिकट दिनुपर्ने र युवाले मात्रै चुनाव जित्ने अवस्था आएको निर्णय गरेको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य अजित क्षेत्रीले युवालाई अगाडी नबढाए चुनावमा कांग्रेसको नतिजा खस्कन सक्ने बताए । ‘अहिले स्वतन्त्र युवा समेत चुनाव जित्न सक्ने भए । हामी अब पनि बुढा पुराना खोजेर टिकट दिन थाल्यौँ भने पराजित हुन पुग्छौँ । उमेर पुगेकालाई सम्मान गर्ने हो, युवालाई प्रोत्साह गर्नुपर्छ,’ उनले भने, ‘आउँदो चुनावमा युवालाई बढी जोड दिइयोस् भनेर दबाब स्वरूप भेला राखेका हौँ ।’

भेलाले पार्टी केन्द्रीय नेतृत्वसँग ५ बुँदे माग पठाएको छ । संसद्मा सशक्त आवाज पुर्‍याउन युवा नेतृत्वको खाँचो रहेको उनीहरूको निष्कर्ष छ । भेलाले पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नवीन चिन्तन, सोच र विचार सहितको युवा पुस्तालाई नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गरेको छ । भेलामा ११ वटै जिल्लाबाट युवा नेताहरूको उपस्थिति रहेको अर्का नेता ठाकुर बरालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *