पोखरामा जाइकाको खानेपानी योजना, ८८ प्रतिशत काम सकियो

पोखरा । जापानी सहयोग नियोग (जाइका) ले पोखराको खानेपानी शुद्धीकरणका लागि आयोजना सञ्चालन गरिरहेको छ । पोखराका सबै घरमा खानेपानी विस्तार गर्ने र शुद्ध पानी वितरण गर्ने योजना अनुसार अहिले काम भइरहेको छ । ८८ प्रतिशत काम सम्पन्न भैसकेको आयोजनाले जनाएको छ ।

उक्त आयोजनाको जाइका प्रमुख ओकुबो अकिमित्सु सहितको टोलीले अवलोकन गरेको छ । सडक विभाग अन्तर्गतका सहरी सडकमा लाइन विस्तार र पस्र्याङ-सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले काम गर्न समस्या भएको आयोजनाले जनाएको छ ।

अहिले भित्री पाइपलाइन विस्तार धमाधम भइरहेको छ भने अधिकांश पाइपलाइन विस्तार सकिएको छ । सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालासँग समन्वय गरेर समाधानको पहल गर्ने मेयर धनराज आचार्यले बताएका छन् । जाइका प्रमुख र मेयर आचार्यबीच समस्या समाधानबारे छलफल भएको थियो ।

पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्य सहित २०७२ सालदेखि आयोजना सञ्चालन गरिएको हो । आयोजनामा जाइकाको ४ अर्ब ८१ करोड अनुदान सहयोग छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दीखोला मुहानबाट पानी हाल पोखरामा वितरण हुन्छ । तर पानी निकै फोहोर र दुर्गन्धित छ । यसको शुद्धीकरणको अध्ययन सन् २००४ मै भएको थियो ।

आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माण, ३ वटा २० लाख लिटर क्षमताका रिजर्भर टंकी र १ सय किलोमिटर पाइपलाइन विस्तार हुने छ । यसलाई नेपालकै दोस्रो ठूलो आयोजनाको रूपमा लिइएको छ । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन क्षमता आयोजनासँग हुने बताइएको छ ।

आयोजनाबाट पोखराका ४ लाख २५ हजार मान्छे लाभान्वित हुने छन् । ४० हजार ५ सय घरधुरीमा खानेपानी धारा जडान भएको छ । पोखरामा दैनिक साढे ६ करोड लिटरको पानीको माग भएपनि हाल साढे ५ करोड लिटर मात्रै आपूर्ति हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =