उपेन्द्रले दाेहाेर्याए गठबन्धन छाड्ने चेतावनी !

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छाड्ने चेतावनी दाेहाेर्याएका छन् । सम्मानजनक स्थान नदिइए जसपा गठबन्धनमा बस्न बाध्य दाेहाेर्याउँदै उनले भनेका छन्, ‘आज गठबन्धनमा जसपालाई कमजाेर बनाउने षड्यन्त्र हुँदैछ ।’
उनले गठबन्धनले जसपालाई कमजाेर ठानिरहेकाे बताए । ‘गठबन्धनमा जसपालाई कमजाेर ठान्ने काम भइरहेकाे छ । जसपालाई याे कुरा सह्य छैन,’ उनले भनेका छन् । प्रतिगमन हुँदा सबैभन्दा पहिले जसपा नै सडकमा उत्रेकाे दाबी गर्दै उनले भने, ‘जसपालाई आफ्नाे शक्तिमा पनि विश्वास छ । प्रतिगमन परास्त पनि जसपाबिना भएकाे हाेइन । त्याे भएर यत्तिबेला सबै मिलेर अगाडि बढ्न जरुरी छ ।’ यद्यपि जसपालाई गठबन्धनभित्रै पेल्ने काम भइरहेकाे उनले बताएका छन् ।
जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने अध्यक्ष यादवकाे दाबी छ । ‘यद्यपि अहिले पनि हामी गठबन्धनबाटै अगाडि बढ्न तयार रहेका छाैँ । गठबन्धनले हामीलाई अर्कै फरकखाले कदम चाल्न बाध्य नबनाओस्,’ उनले भनेका छन् । मधेसको शक्तिको रूपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भइरहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टले नगरोस् भन्ने चेतावनी दिन चाहन्छु ।’
उनले आफूले २५ सिट नपाए गठबन्धन छाड्ने चेतावनी दिँदै आएका छन् । यसअघि शनिवार बसेकाे सिट बाँडफाँटबारेकाे बैठकमा पनि उनी उपस्थित भएनन् ।








