दार्चुला पहिरो अपडेट : घाइते भएका ४ जनालाई हेलिकोप्टरबाट धनगढी अस्पताल लगियो

काठमाडौँ । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।
पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना र १३ वर्षीया धनुली ठगुन्ना तथा वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। नौगाडमा पहिरोले १२ घर पूर्ण रूपमा क्षति पुगेको छ। सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ ।
पहिरोका कारण वडा नम्बर २ मा १५ घर, विद्यालय, पानी घट्ट लगायत पूर्ण रुपमा क्षति भएको उपाध्यक्ष ठगुन्नाले बताए । पहिरोले ती घरका पशु चौपाया, अन्नपात, धनसम्पत्ति केही बाँकी नरहेको उनले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको उनको भनाई छ ।
यता दार्चुलाकै महाकाली नगरपालिकामा पनि पहिरोका कारण ठूलो क्षति भएको छ । यहाँ २ जनाको शव भेटिएको छ भने अन्य ७ जना वेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ की ४३ वर्षीया मनमती कार्की र वडा नम्बर २ बस्ने ७७ वर्षीय नन्दराम बोहोराका शव भेटिएको छ ।








