खै, कहाँ छ हाम्रो सरकार ?

खै, कहाँ छ हाम्रो सरकार ?
दुख्दै आएको नेपाली मुटु
आज झन् दुख्न थाल्यो,
बग्दै आएको आमाको आँसु
खहरेझैँ बग्न थाल्यो !
मेची गाउँथ्यो
काली नाच्थ्यो
बुद्ध– सगरमाथा समीपबाट चियाउँथे,
आज–
कालापानी मिचिँदा
नालापानी लुटिँदा
बुद्ध– सगरमाथा पनि धुरुधुरु रुन थाले ।
देख्छु–
तराई, पहाड, हिमाल रोएको
नेपाल आमा रोएकी
सिङ्गो देशै रोएको !
विडम्वना–
रोदन सुनिदिने कसले ?
आमाको आँसु पुछिदिने
घाउमा मल्हम लगाइदिने
कुशल सुपुत्र कहाँ छ ?
यहाँ त युगपुरुष जन्मिनु पर्थ्याे !
हिमालको काखमा जन्मेका
शान्तिको छायाँमा हुर्केका–
भूमिपुत्रहरू
आदिवासी–जनजातिहरू
दलित–मजदूर–भरियाहरू
पसिनाको हिलोमा रोपाइँ गर्ने किसानहरू
किन आज नुन नपाइ बाँच्नु परिरहेछ,
चामलको अभावमा मर्नु परिरहेछ ?
नेपाली चेली बलात्कृत हुँदा
बुद्ध– सगरमाथा चोरिँदा
सीमा मिचिएर राष्ट्रिय स्वाभिमान लुलिँदा
किन यो देशमा सरकारको प्रत्याभूति छैन ?
असुरक्षा, अभाव, महङ्गीहरूको भीडमा
खै, कहाँ छ हाम्रो सरकार ?








