स्थानीय आवश्यकताअनुसार एमालेले तालमेल गर्छ : महासचिव पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय आवश्यकताको आधारमा अन्य जोकोही दलहरूसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।
एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको आमा नन्दकुमारी थापामगरको निधनको शोक सभामा श्रद्धाञ्जली व्यक्त गर्न चितवन आएका नेता पोखरेलले अहिलेको पाँच दलीय सरकार नालायक बनको आरोप लगाए ।
कार्यक्रममा उनले भने, ‘एमाले देशभर नै एक्लै लड्छ, कहीँकतै स्थानीय आवश्यकताको आधारमा औचित्य पुष्टि हुने गरी अन्य दलसँग तालमेल हुनसक्छ ।’
भरतपुर विमानस्थलमा पत्रकारमाझ नेता पोखरेलले नेपाली कांग्रेस दिशाहीन भएको र नीतिगत नेतृत्व गर्ने सामर्थ्य गुमाएको बताए । उनले भने, ‘एमाले सत्ता गठबन्धनजस्तो अराजनीतिकको पक्षमा छैन, अर्को दलको सिद्धान्त र मान्यतामा हिँड्दैन, आफ्ना नीतिलाई जनतामाझ लान चाहन्छ ।’
उनले एमालेको सरकारका समयमा अहिलेको सरकारको एक वर्षको अवधि हेर्ने हो भने धेरै फरक भएको र बहस त्यतातर्फ लानुपर्ने बेला भएको बताए । उनले भने, ‘पुँजीगत खर्च हुन सकेको छैन, मूल्य वृद्धिदर आठ दशमलव माथि पुगिसक्यो, एमाले सरकारमा हुँदा जम्मा ३.६ थियो ।
जनताको माग कुनै सम्बोधन भएको छैन । यो सरकारले गरेको बेथिति र विसंगतिहरूलाई जनतामाझ लिएर नेकपा एमाले पुग्छ ।’








