आसन्न निर्वाचन : एमाले-लाेसपाबीच गठबन्धन हुँदै, सिट बाँडफाँट कार्यदल बनाइने

काठमाडाैँ । आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ । गठबन्धनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले पहिलाेचरणकाे वार्तासमेत गरेका छन् । वार्ता सकारात्मक रहेकाे लाेसपा नेता एकवाल मियाँले बताएका छन् । ‘हाम्राे पार्टी कहिल्यै गठबन्धन तथा एकताकाे विपक्षमा छैन । त्यसमा एमालेसँग गठबन्धन हुनु, लाेकतन्त्र, देश र जनताका लागि एकठाउँमा हुनु भनेकाे राम्रै कुरा हाे । त्यसमा नेताहरूले कुराकानी गरिरहनुभएकाे छ । सायद गठबन्धन हुन्छ ।’

गठबन्धन हुँदा सिट बाँडफाँट गर्ने र त्यसका लागि कार्यदल बन्ने नेताहरूले बताएका छन् । लाेसपाकै एक नेताले भनेका छन्, ‘अब गठबन्धन नै हुने भयाे भने त सिट बाँडफाँट त अनिवार्य भइहाल्याे । त्यसका लागि कार्यदल बन्ने नै भयाे । तर, एमालेले याे कुरामा चाख देखाएकाे छ । यसकाे सम्भावना उच्च छ ।’

यसबीचमा ओली-ठाकुरबीच चरणबद्धरूपमा अनाैपचारिकरूपमा कुराकानी भइरहेकाे उल्लेख गर्दै ती नेताले भनेका छन्, ‘याे वार्ताले कति सार्थकता पाउँछ, हेराैँ । सम्भवत: चाँडै नै औपचारिक घाेषणा पनि हाेला कि ?’

उसाे त एमालेले पनि अन्य पार्टीहरूसँग कार्यगत एकता गरेर अगाडि बढ्ने निर्णय गरिसकेकाे छ । यसअघि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेता गाेकुल बाँस्काेटालगायतले पनि लाेसपाका नेताहरूसँग मिलेर जानेगरी कुराकानी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *