प्रचण्ड भन्छन्- ‘मैले चाहेँ भने अहिले प्रधानमन्त्री हुन सक्छु, म त्यो रेसमा छैन’

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहे अहिले नै प्रधानमन्त्री हुन सक्ने भएपनि आफ्नो चाहना नभएको बताएका छन् ।

‘प्रधानमन्त्रीकै इच्छा गरेको भए पहिले पनि हुन सक्थेँ । ७४ को निर्वाचनपछि पाँचै वर्षको लागि प्रधानमन्त्री हुन ढोका खुला थियो, तर मैले बाम गठबन्धन र कम्युनिष्ट एकतालाई प्राथमिकता दिएको हुनाले छोडेको हुँ,’ उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीको कुरामा डिबेट भएको छैन, गर्नेवाला पनि छैन । अहिले पनि प्रधानमन्त्री बन्न चाहेँ भने तुरुन्तै बन्ने स्थिति छ । तर म बन्दिनँ । यो देशलाई फाइदाजनक हुँदैन ।’

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको विषय चुनावको नतिजापछि मात्रै छलफल हुने बताएका छन् । उनले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताए । ‘संविधानतः एक पटक राष्ट्रपतिलाई चित्त नबुझे विधेयक फिर्ता पठाउन मिल्छ । दोस्रो पटक पास गरेपछि अव उहाँले फिर्ता गर्न मिल्दैन, संविधानमा त्यो व्यवस्था छैन,’ उनले भने, ‘यदि प्रमाणीकरण गर्नुभएन भने अदालत जान्छ । कि वहाँले राजीनामा दिनुपर्छ ।’

आफ्नो दिल्ली भ्रमणलाई लिएर धेरैतिर भ्रम फैलिएको भन्दै प्रचण्डले दिल्ली भ्रमणका क्रममा कुनै नयाँ सहमति र सम्झौता नभएको उल्लेख गरेका छन् । सिट बाँडफाँट आजै टुङ्गिने उनको भनाई छ । ‘हिजो टुङ्गिने अवस्था थियो । हामी नेताहरू बाहिर जानुपर्ने कार्यक्रम धेरै भयो । आज ३ बजेबाट निर्णायक बैठक छ,’ उनी भन्छन्, ‘आज टुङ्ग्याउने गरी बस्छौँ ।’

नागरिकता विधेयक पहिलेको सरकारले ल्याएको अध्यादेश अनुसार नै आएको भन्दै प्रचण्डले त्यसमा वैवाहिक अङ्गीकृतको विषय उल्लेख नभएको र त्यसलाई छुट्टै विधेयक मार्फत सम्बोधन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *