निर्वाचनमा महिलालाई उचित अवसर दिन्छाैँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन् ।

बुधवार काठमाडौँमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताएका हुन् ।

उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए ।

अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयोग गर्दै आवश्यकता अनुसार चुनावी प्रचार प्रसारमा जुट्न आग्रह गरे । उनले आफै सक्षम भए कसैले अघि बढ्न रोक्न नसक्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेसका महिला नेतृहरूले आगामी निर्वाचनमा समान सहभागिताको सुनिश्चित गर्न नेतृत्वसमक्ष आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *