कास्कीका ३९ सुकुम्वासीले पाए पहिलो पटक लालपुर्जा

पोखरा । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी ३९ घर परिवारले पहिलो पटक लालपुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले उनीहरूलाई लालपुर्जा उपलब्ध गराएको हो ।

लामो समयदेखि बसोबास गर्ने तर लालपुर्जा नभएकाहरूको पहिचान गरेर लालपुर्जा दिइएको आयोगका कास्की प्रवक्ता आसबहादुर गुरुङले बताए । ‘२०५२ सालदेखिका मान्छे छन् । त्यसअघि पनि धेरै जनाको लालपुर्जा छैन,’ उनले भने, ‘हामीले सुरुआत गरेका छौँ । केही महिनाभित्रै सबैलाई लालपुर्जा वितरण हुन्छ ।’

लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लालपुर्जा जनताको नैसर्गिक हक भएको बताइन् । यसअघिका सरकारले भूमिहीनको पक्षमा काम गर्न नसकेको उनको आरोप छ । कास्कीमा ३० हजार हाराहारी भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास रहेको तथ्याङ्क आयोगसँग छ । त्यसमध्ये पोखरामा मात्रै २० हजार बस्छन् ।

सेतो पुर्जा र फिल्डबुकमा नाम भएकालाई लालपुर्जा दिएको आयोगले जनाएको छ । दसैँ अघि नै धेरैलाई लालपुर्जा वितरण गरिसक्ने अध्यक्ष गङ्गा पोखरेलले बताए । आयोगले कास्कीका ५ वटै पालिकासँग सम्झौता गरेर भूमिहीन दलित, सुकुम्वासी लगायतको सूची सङ्कलन गरेको छ । उक्त सूचीका आधारमा निस्सा वितरण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *