चितवनको चुनावी सरगर्मी : उम्मेदवारीका लागि ठूला पार्टीका ३१ जनाको लबिङ

चितवन । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावको सरगर्मी चितवनमा बढ्दो छ । तीन वटा क्षेत्र रहेको चितवनमा प्रतिनिधि सभाको लागि उम्मेदवार बन्न ३१ जनाले लबिङ गरिरहेका छन् ।

टिकट कसले हात पार्ने भन्ने विषयमा अन्योल कायमै छ । हालसम्मको विवरणअनुसार चितवन ३ बाट माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्र सिफारिस गरेको छ भने सोही क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई मात्र सिफारिस गरेको छ ।

चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने दाबी गरेका छन् । उनी यसअघिको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । सोही क्षेत्रमा प्रतिनिधिसभाका लागि एमालेका अर्का नेता जेएन थपलियाले पनि उम्मेदवारको दाबी गरेका छन् ।

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, डा। तीर्थ खनिया, डा। स्वर्णिम वाग्ले र डा। विश्व पौडेल रहेका छन् ।

नेकपा माओवादी केन्द्रले चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि केदारप्रसाद खरेल, ओमकृष्ण थपलिया र वासु चापागाईंलाई सिफारिस गरेको माओवादी केन्द्रका नेता ईश्वर सापकोटा सुमनले जानकारी दिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका ५ जना आकाङ्क्षी देखिएका छन् । जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, उमेश श्रेष्ठ, प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस भएको नेपाली कांग्रेस चितवनले जनाएको छ ।

नेकपा एमालेबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि कृष्णभक्त पोखरेल, देवी ज्ञवाली, डा। तिलचन्द्र भट्टराई, शिवकुमारी गोतामे र कृषि विज्ञ डा। कृष्ण पौडेलले दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि आरसी अधिकारी एक जना मात्रै सिफारिस भएका छन् । नेता ईश्वर सापकोटा सुमनका अनुसार माओवादीले चितवन क्षेत्र नं २ मा एक जना मात्रै सर्वसम्मत सिफारिस गरेको हो ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई मात्र सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले पनि चितवन क्षेत्र नं ३ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट ७ जनाले आवेदन दिएका छन् । टेकप्रसाद गुरुङ, दिनेश कोइराला, रामकृष्ण घिमिरे, विजयराज शर्मा भुसाल, भरतप्रसाद सापकोटा, रामप्रसाद अधिकारी र तारानाथ पौडेलले चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नका लागि निवेदन दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *