सुरक्षित यात्राका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव पत्र

पोखरा । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न अभियानकर्ताहरूका तथा संघ संस्थाहरूले सुरक्षित यात्राको अधिकारका लागि गण्डकी प्रदेश सरकार लाई सुझाव–पत्र पेस गरेका छन् ।

प्रदेशमा क्रियाशील विभिन्न अभियानकर्ताहरूको टोलिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का लाई सुझाव पत्र पेस गरेको हो । उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगायतका विषयहरू समेटिएका छन् ।

हरेक दिन सडक दुर्घटनाबाट करिब एक दर्जन मानिसको मृत्यु र सयौँ मानिस घाइते तथा अंगभंग भई जीवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरूको खोजी र तिनको कार्यान्वयनका लागि सुझाव दिइएको अभियानकर्ता मध्येका नासा नेपालका गोविन्द भट्टराईले बताए । उनले भने–‘हामीले मन्त्री ज्यू मार्फत सुझाव पत्र पेस गरेका छौँ । उहाँले सडक सुरक्षाको विषय गम्भीर रहेको र सुझावका लागि धन्यवाद दिए । ” अभियानकर्ता भट्टराईले यस्तो सुझाव सबै प्रदेश सरकारलाई बुझाइएको बताए ।

सुझाव पत्रमा नेशनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियन्ता तथा विज्ञहरू, सञ्चार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेसागत र व्यवसायी संगठन तथा सम्बन्धित सरोकारवालाहरू समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिइएको छ ।

त्यसै गरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरूको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पिड लिमिट) सम्बन्धी ऐन, मोबाइल प्रयोगमा प्रतिबन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता विषयहरू समेटिएका छन् । सुझाव पत्र बुझ्दै गण्डकी प्रदेशका मन्त्री खड्काले संघ संस्थाहरूबाट आएका सुझावहरूलाई सकारात्मक रूपमा लिइएको बताए ।

उक्त सुझाव पत्रमा स्वास्थ्यकर्मी तथा नेपाल अर्थेपेडिक एसोसीएसनसका पूर्व अध्यक्ष डा. बुलन्द थापा, नासा फाउन्डेसन नेपालका भगवती सेढाई, एकेडेमीक नेटवर्क फर रोड सेफ्टि रिसर्चका गिरि राज दाहाल ,सञ्चारकर्मी भगीरथ योगी , सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्त,स्वतन्त्रता अभियान नेपाल ऋतु भट्ट राई, नेसनल एलाएन्स् फर सेफ एन्ड सष्टेनेवल मोविलिटिका नीतु पण्डित, कमिनिटि डेभलोपमेन्ट फाउन्डेसनका रजनी के.सी सहितको टिम संलग्न रहेको छ ।

यस्तै सम्पूर्ण अभियानकर्मीको तर्फबाट भूतपूर्व खेलाडी मञ्चका सचिव केशव पाठक, सञ्चारीका समूह गण्डकीका कविता श्रेष्ठ, इन्टरनेशनल अटो मोबाइल फेडेरेसनका गोविन्द प्रसाद भट्टराई रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *