गोरखा पुगे डा. बाबुराम भट्टराई

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा पुगेका छन् । निर्वाचनको मिति घोषणा भएको र चुनावी तालमेल भइसकेपछि आफ्नो पार्टीका नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्न उनी गोरखा गएका हुन् ।

शनिबार गोरखा सदरमुकाममा समाजवादी पार्टीको आन्तरिक भेला छ भने आजै जिल्ला स्थित नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको उक्त पार्टीका नेता तथा गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले बताए । ‘भेला चुनाव लक्षित हो । गोरखाबाट चुनाव लड्ने विषयमा पनि छलफल हुनेछ,’ उनले भने ।

यद्यपि भट्टराई जिल्लामै रहने छैनन् । ‘अहिले फर्कनुहुन्छ । चुनावका लागि पुनः गोरखा आउने र गोरखामै रहने कार्यक्रम बन्दै छ,’ आचार्य भन्छन्, ‘उम्मेदवार छनोट देखि तालमेलसम्मका कुरामा आन्तरिक कुराकानी चलिरहेको छ ।’

भट्टराई चुनाव उठ्ने वा नउठ्ने भन्ने टुङ्गो लागेको छैन । यदि चुनाव उठे गोरखा २ बाटै सहभागी हुने आचार्यले बताए । ‘कि चुनाव उठ्नुहुन्न । उठे गोरखा २ छोड्नु हुन्न,’ उनी भन्छन्, ‘अहिलेसम्म अन्तिम टुङ्गो लागेको छैन । अरू पार्टीसँग पनि सल्लाह गर्नुपर्ने छ ।’ यसअघिको निर्वाचनमा उनी गोरखा २ बाट माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएर सांसद भएका थिए । अहिले उनको पार्टी माओवादीसँगै मिलेको छ ।

त्यहाँ कांग्रेसले कुनै हालतमा उम्मेदवार उठाउने तयारी गरेको छ । केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको एकल नाम सर्वसम्मत रूपमा सिफारिस पनि भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *