पोखराका ३२ शौचालय सर्वसाधारणका लागि खुला, अगामी वर्ष थप ३३ शौचालय बनाइने

पोखरा । पोखरा महानगरको पहलमा ३२ संघ संस्थाले निजी शौचालयलाई सार्वजनिक बनाएका छन् । बिहीबार एक कार्यक्रमका बीच मेयर धनराज आचार्यले सार्वजनिक शौचालय अभियान सुरु गरेका हुन् ।

पहिलो चरणमा ३२ संघ संस्था, व्यक्तिहरूको शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न सहमति भएको हो । पोखराले साउन ३ गते बैठक बसेर निजी घर, बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेण्ट लगायतका व्यावसायिक, संघ संस्थासँग शौचालय सार्वजनिक रूपमा प्रयोगका लागि दिन आह्वान गरेको थियो ।

महानगरले आफ्नो शौचालय नबनाउँदासम्म संघ संस्थाकै शौचालयलाई प्रयोग गरिने उनले बताए । ‘यो काम ठूलो होइन, व्यवस्थापन मात्र गरेको हो । रेष्टुरेण्ट पसेर खाने पैसा नभए शौचालय जान नपाउने अवस्था छ,’ उनले भने, ‘सबै चोकमा सार्वजनिक शौचालय निर्माणको लागि टेण्डर प्रकृया सुरु गरेको छौं ।’ उनले छिटै शौचालय दिने संस्था १ सय पुग्ने बताए ।

‘हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौं,’ उनले भने, ‘छिटै यसको संख्या १ सय पुग्ने छ ।’ पोखराले १ वर्षभित्र पोखराका महत्त्वपूर्ण चोकहरूमा सार्वजनिक शौचालय निर्माण गरिसक्ने बताए ।

त्यसका लागि महानगरले शौचालय बनाउने योजना गौरवका योजनामा राखेको छ । कम्तीमा ३३ वटा शौचालय निर्माण गरिने मेयर आचार्य बताउँछन् । त्यसका लागि ८ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *