एमालेका प्रदेशसभा सदस्यले छाेडे पार्टी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच एमाले कैलालीका पूर्व अध्यक्ष समेत रहेका थापालाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीमा स्वागत गराएकी हुन् ।

थापासँगै एमालेका पूर्व सांसद हिमाञ्चल भट्टराई लगायतका नेता तथा कार्यकर्ताहरू पनि नागरिक पार्टीमा प्रवेश गरेका छन् । नागरिक पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले जनताको भाग्य र भविष्य बदल्नको लागि एमालेले केही पनि गर्न नसकेको आरोप लगाए ।

उनले संघीयता नमान्ने र अखण्ड सुदूरपश्चिम भन्ने दुई नेताहरू एमालेमा रहेको बताए ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जनताको आवश्यकता अनुसार नीति निर्माण गर्न संगठित भएको बताइन् । उनले छिटै आफ्नो पार्टीलाई देशव्यापी बनाउने दाबी गरिन् ।

यसअघि चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित रेसम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेसम चौधरी भने कारागारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *