गोकर्णेश्वरमा अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक, अटेर गरे कारबाही

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिका क्षेत्रमा अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक लगाएको छ । मेयर दीपक कुमार रिसालले आज एक सूचना प्रकाशित गरी अनुमतिबिना डोजर र एक्स्काभेटर प्रयोग गर्न रोक लगाएका हुन् ।
जग्गा मिलाउने नाममा होस् या जग्गा प्लटिङ गर्ने उद्देश्य सहित प्रयोग हुने यस्ता मेसिनहरूले पहिरो जाने सम्भावना उच्च हुने, सँधियारको जग्गा र भवन तथा पर्खाल लगायतका भौतिक संरचनामा क्षति पुग्ने लगायतका गुनासो वडा तथा पालिकामा बढी आउन थालेकोले यस्ता मेसिनहरू अनुमतिबिना प्रयोग गर्न रोक लगाइएको मेयर रिसालले बताए ।
अबदेखि यस्ता मेसिनहरू प्रयोग गर्न परेमा सम्बन्धित वडाध्यक्ष वा नगरप्रमुखको अनुमतिबिना प्रयोग नगर्न समेत उनले सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।
यदि पूर्व स्वीकृति बिना कतै कसैले प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि उनले बताए ।








