गगनको कास्की इन्ट्री : के हो वास्तविकता ?

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि काठमाडौँ ४ मा आफैँले निवेदन दिएका छन् । यता कांग्रेसका नेता कार्यकर्ताहरूले कास्की १ मा पनि उम्मेदवार बन्ने आवेदन पार्टीमा बुझाएका छन् ।

जिल्ला सचिव भानु ढकालले उनको वारिसेका रूपमा हस्ते दस्तखत गरेर निवेदन कांग्रेस कास्की १ का सभापति राजेन्द्रमणी लामिछानेलाई दिए ।

कास्की १ मा आवेदन परेसँगै अहिले गगनको आलोचना र समर्थन दुवै कोणबाट चर्चा भइरहेको छ । वास्तवमा गगनको कास्की इन्ट्री के हो ? कांग्रेस कास्कीका एक नेता भन्छन्, ‘उताबाट फोन आयो । अनि यहाँ आवेदन परेको हो ।’ तर गगनले भने आफू काठमाडौँ ४ बाटै चुनावमा उठ्ने प्रतिक्रिया मिडियालाई दिएका छन् । उनले आफू काठमाडौँबाटै चुनाव लड्ने र अन्यत्र आवेदन नदिएको बताएपछि पुनः अर्को खाले आलोचना सुरु भएको छ ।

त्यसो भए गगनले मिडिया ट्रायल गरेका हुन् ? कास्की सचिव ढकालले कास्कीका नेता कार्यकर्ताहरूको आह्वानमा थापाको नाम टिपाएको बताए । ‘यहाँको नेता कार्यकर्ताको आवाज हो यो । ‘गगन जत्तिको नेता कास्कीमा आउनुपर्छ भनेर हामीले आवेदन दिएका हौँ,’ उनले भने, ‘उहाँलाई चुनाव लड्न आउनका लागि निम्तो दिएका हौँ । अब आउने नआउने उहाँको कुरा भयो ।’

कास्की १ मा गत निर्वाचनमा एमालेका खगराज अधिकारीले भारी मतका साथ खगराज अधिकारीले कांग्रेसका तत्कालीन बहालवाला मन्त्री यज्ञबहादुर थापालाई हराएका हुन् । त्यसो त, अघिल्लो निर्वाचनमा बाम गठबन्धन थियो । यहाँ कांग्रेस र एमालेको प्रतिस्पर्धा बढी हुन्छ ।

२०४८ देखि हालसम्म ३ वटा चुनाव कांग्रेसले जितेको छ भने २ पटक एमाले तथा उपचुनाव सहित २ पटक माओवादी विजयी भएको छ । २०६४ मा माओवादीका देव गुरुङले चुनाव जितेका थिए । पछि उनले यो क्षेत्र छोडेपछि कृष्णबहादुर गुरुङले माओवादीबाटै उपचुनाव जितेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *